• २० वैशाख २०८३, आइतबार

बाघबाट गैँडाका बच्चा जोगाउन चुनौती

blog

वसन्त पराजुली 

सौराहा, साउन ९ गते ।  पर्यटकीय नगरी सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा अहिले तीन वटा केटा  (गैँडाका बच्चा) हुर्कंदै छन्। गत जेठ २१ गते बाघमारा सामुदायिक वन क्षेत्रबाट करिब एक महिना उमेरको केटो, बेलसहर सामुदायिक वन देवनगरबाट असार १ गते भेटिएको करिब डेढ महिनाको केटो र गत वर्ष कात्तिक १६ गते  सौराहा नजिकै खोरसोर क्षेत्रबाट एक महिनाको केटीलाई उद्धार गरी कोषमा संरक्षण गरिएको हो। 

खुट्टा, पेटलगायतका अङ्गमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका तीन वटै गैँडाका बच्चालाई बाघले आक्रमण गरेको दाबी चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठको छ।  “बाघमारामा भेटिएको राम, देवनगरमा भेटिएको देव र खोरसोर नजिक भेटिएकी पूजा नाम दिइएका गैँडाका बच्चालाई अहिले कोषमा राखेर उपचार गरिँदै छ,” डा. श्रेष्ठले भन्नुभयो। पूजा घाउ निको भई हुर्किसकेको छ भने राम र देवको अहिले पनि उपचार जारी छ।

बाघले सिकारकै लागि गर्ने गैँडाका बच्चामाथिको आक्रमण पछिल्लो समय बढेको छ। निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार आर्थिक वर्ष २०७९/८० मा मरेका २२ गैँडामध्ये छ वटा बाघले खाएको हो। यस्तै आव २०७८/७९ मा मरेका ३७ मध्ये छ वटा, २०७७/७८ मा मरेका ३३ मध्ये एक, २०७६/७७ मा मरेका २६ मध्ये एक, २०७५/७६ मा मरेका ४३ मध्ये दुई, २०७४/७५ मा मरेका २६ मध्ये चार र २०७२/७३ मा मरेका १४ मध्ये दुई वटालाई बाघले मारेको निकुञ्जसँग तथ्याङ्क छ। 

वन्यजन्तु विज्ञ डा. बाबुराम लामिछानेले बाघको सङ्ख्या बढेसँगै यसले गैँडाका बच्चा सिकार गने क्रम बढाएको तथ्यले देखाएको बताउनुभयो। “एकातिर बाघको सङ्ख्या बढ्दो छ। बाघ बढेसँगै यसले सिकार खोज्ने नै भयो। त्यसमा पनि गैँडाका बच्चा उसको रोजाइकै सिकार हो,” उहाँले भन्नुभयो। 

रसियाको सेन्ट पिटर्सबर्गमा १२ वर्षअघि भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय  सम्मेलनमा नेपालले सन् २०२२ भित्र बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता ग¥यो। बाघ गणना २०२२ को तथ्याङ्क अनुसार बाघको सङ्ख्या वृद्धि भई त्यो लक्ष्य पूरा भएको देखायो। सन् २०१० मा सेन्ट पिटर्सबर्गमा भएको बाघ सम्मेलनअघि नेपालमा १२१ बाघ थिए। अहिले सङ्ख्या बढेर ३५५ पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटामा बाघ छन्। सन् २००० मा ६० वटा बाघ रहेको चितवनमा २०२२ मा १२८ पुगेको छ। 

बाघमा विद्यावारिधि गर्नुभएका डा. लामिछानेले भन्नुभयो, “जरायो, नीलगाई, गौरीगाई जस्ता ठुला जनावर पाइन छाडेपछि बाघ विस्तारै गैँडाको बच्चाप्रति आकर्षित भएको देखिन्छ।”

९५२ वर्ग किलोमिटरमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज नेपालमा सबभन्दा धेरै बाघ रहेको निकुञ्ज हो। एक सर्वेक्षण अनुसार चितवनमा प्रतिवर्ग किलोमिटर ९९.७ वटा बाघको आहाराजन्य जनावर रहेको भेटिन्छ। बाघको आहारा भनेको मृग, बँदेल, जरायो जस्ता जनावर हुन्। यीमध्ये बाघले सबभन्दा धेरै मन पराउने जनावर जरायोको सङ्ख्या ७.९४ वर्ग किलोमिटर छ। यसबाहेक बाघले मन पराउने जनावर नीलगाई र गौरीगाई पनि हो। चितवनमा नीलगाईको तथ्याङ्क छैन तर गौरीगाईको सङ्ख्या भने ३८८ रहेको सन् २०२२ को गणनामा उल्लेख छ।  

“अझै पनि बाघको आहाराजन्य जनावरको वृद्धि आवश्यकता अनुसार हुन सकेको छैन। यो बाहिरभन्दा कोर निकुञ्ज क्षेत्रमै वृद्धि गराउने गरी संरक्षणको कार्यक्रम ल्याउनु पर्छ,” डा. लामिछानेले भन्नुभयो। 

सामान्य अवस्थामा बाघको भालेले ४० देखि ४५ वर्ग किलोमिटर र पोथीले २५ देखि ३० वर्ग किलोमिटर क्षेत्रफललाई आफ्नो क्षेत्र बनाएको हुन्छ। यो पनि त्योभित्र पाइने आहारामा भर पर्ने बताइन्छ। बाघको आहाराजन्य जनावरका लागि घाँसे मैदान चाहिन्छ तर निकुञ्जको घाँसे मैदान मासिँदै गएको उहाँको तर्क छ। पहिला २० प्रतिशतभन्दा बढी घाँसे मैदान रहेको चितवनमा अहिले १० प्रतिशतभन्दा कम छ। 

चितवनकै गैँडाको पारिस्थितिक प्रणाली (इकोसिस्टम) मा विद्यावारिधि गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक नरेश सुवेदीले बाघले गैँडाका बच्चा खानु स्वाभाविक भएको बताउनुभयो। “बाघको आहाराजन्य ठुला जनावर जरायो, नीलगाई, गौरीगाईको सङ्ख्या कसरी बढाउने भन्नेतर्फ सोच्न जरुरी भयो,” उहाँले भन्नुभयो।