• ८ जेठ २०८१, मङ्गलबार

महिला उद्यमीका सामग्रीको बजारीकरणबारे छलफल

blog

काठमाडौं, साउन ९ गते । ललितपुर महानगरका महिला उद्यमीका समस्या, अवसर, उत्पादन भएका सामग्रीको बजारीकरणबारे छलफल गरिएको छ । ललितपुर महानगरपालिकाले सोमबार ‘तेस्रो महिला उद्यमी सम्मेलन’ को आयोजना गरेर देशको आर्थिक अवस्थामा टेवा पु-याइरहेका महिला उद्यमीले सामना गर्नुपर्ने समस्याबारे छलफल गरेको हो । 

सो महानगरका प्रमुख चिरीबाबु महर्जनले देश विकासमा टेवा पु-याउने माध्यम उद्यम क्षेत्रमा संलग्न महिला उद्यमीबिच छलफलपछि प्राप्त निष्कर्षलाई महानगरले कार्ययोजनाका रूपमा कार्यान्वयनका लागि वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले महिलालाई उद्यमसँग जोड्न महानगरले प्रदान गर्ने तालिममा आफ्नो रुचि र लक्ष्य अनुसार सहभागी भएर महानगरसँग उद्यम स्थापनाका लागि न्यूनतम ब्याजदरमा बिउ पुँजीका लागि पनि माग गर्न आह्वान गर्नुभयो ।

महानगरका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले महानगरभित्र हजारौँको सङ्ख्यामा महिला उद्यमी रहेको र उद्यमीबिच एक आपसमा छलफल, साझा समस्याबारे समाधानको उपाय खोज्ने अवसरका लागि सम्मेलनको आयोजना गरिएको बताउनुभयो । 

उहाँले सबैलाई रोजगारी दिन सकिँदैन तर सिपसहित मेहनत गरेर उद्यमी बन्न चाहनेलाई महानगरले उद्यमी बन्ने अवसर दिन विविध कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले ललितपुर महानगरसँग सहकार्य गरेर महासङ्घले उद्यम विकासका विविध कार्यक्रम गर्दै आएको र महिला उद्यम विकासको अवस्थाले आफू उत्साहित भएको बताउनुभयो । साथै महासङ्घले अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष निर्माण गरेर उत्पादित वस्तुको बजारीकरणको पहल गरिरहेको बताउनुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले महानगरले विविध विकास, निर्माण महानगरको सुव्यवस्थाका साथै उद्यम विकासका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

नेपालका लागि अस्टे«लियाका राजदूत फेलिसिटी भल्कले दूतावासमार्फत नेपाली महिलाको उद्यमशीलताका लागि सहकार्य गर्दै आएको र यहाँका महिलाले उद्यममा संलग्न भएर आत्मनिर्भर बनेको देख्दा खुसी लागेको बताउनुभयो ।

त्यसै गरी युरोपियन युनियन (इयु) का नेपालका लागि राजदूत नोना डिप्रेजले महिला सशक्तीकरणका लागि आवश्यक आर्थिक आत्मनिर्भरको बाटो उद्यम नै हो भन्दै यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।  

सो अवसरमा पूर्वसचिव यामकुमारी खतिवडाले ‘उद्यम व्यवसाय सञ्चालन र व्यवस्थापनमा उद्यमीको भूमिका र सरोकारवाला निकायको दायित्व’ बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

महिला उद्यमीको व्यावहारिक समस्या, सरोकारवाला निकायको भूमिकाबारे समूहगत छलफल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा र डाँफे वक्र्सका अध्यक्ष कृतिष्मा कार्कीलगायत सफल महिला उद्यमीले उत्प्रेरणात्मक प्रस्तुति दिनुभएको थियो ।