• ८ जेठ २०८१, मङ्गलबार

उपत्यकामा एकै दिन १०१ फार्मेसी अनुगमन

१० वटा फार्मेसी सिल, दुई दर्जनलाई सचेत पत्र

blog

काठमाडौँ, साउन ९ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एकै दिन काठमाडौँ उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाउनु भएको थियो । 

फार्मेसीहरूले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाइरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले देश भरि नै फार्मेसीहरूको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको थियो । उपत्यकामा गरिएको अनुगमनमा खटाइएका टोलीले नियम विपरीत सञ्चालित १० वटा फार्मेसीलाई सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ ।   

अनुगमन टोलीले सोमबार साँझ मन्त्री बस्नेत समक्ष  टोलीले गरेको अनुगमन र फार्मेसी सञ्चालनको अवस्थाका विषयमा जानकारी गराएका छन् । अनुगमन टोलीका संयोजकहरूका अनुसार अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर फार्मेसी चलाइरहेकोको सङ्ख्या उल्लेख्य छ । त्यसैसरि बिक्री वितरण गर्ने अनुमति नै नल्याएर न्युटास्युटिकल सामग्रि पनि फार्मेसीबाट बिक्री वितरण गर्ने गरेको, म्याद गुज्रिएका औषधिको भण्डार अलग गरेर नराखिएको, दर्ता नै नभएका र सरसफाइमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ । 

अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरूले निरीक्षणको क्रममा दर्ता नै नगरी फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताउनुभयो । गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताउनुभयो । छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सोमबार गरिएको व्यापक अनुगमनले सबैको आँखा खोलेको बताउँदै यसलाई भविष्यमा पनि व्यापकता दिइने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले अनुगमनबाट उपत्यकामै ठुलो सङ्ख्यामा फार्मेसी नियम विपरीत सञ्चालन भइरहेको पाइएकोले अनुगमनलाई निरन्तरता दिन औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई निर्देशन दिनुभयो । 

जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने फार्मेसीलाई तत्काल कारबाही गर्ने र राम्रो तरिकाले चलेका फार्मेसीहरूलाई प्रशंसा पत्र दिएर राम्रो काम गर्न प्रोत्साहन गर्न समेत मन्त्री बस्नेतले ढकाललाई सल्लाह दिनुभयो ।  औषधि व्यवस्था विभागमा जनशक्तिको अभाव तत्कालका लागि परिपूर्ति गर्न फार्मेसीमा इन्टर्न गर्न आउनेहरूलाई औषधि विभागमा पठाउन मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो । छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले देश भरि नै अनुगमन भइरहेको र यसले सुखद परिणाम ल्याउने विश्वास व्यक्त गन्नुभयो ।