धुलिखेल, असार २४ गते । धुलिखेलमा बसेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२ निर्धारित तालिकाअनुसार पूर्णरूपमा सम्पन्न हुन सकेन । रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँगै गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो ।
बाढीमा केही सुरक्षाकर्मीसमेत बेपत्ता भएका छन् । गोष्ठीको उद्घाटन सत्र बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेले गर्नुभयो । सुरक्षा गोष्ठीमा गृहमन्त्री रामेश लेखक, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), सुरक्षा निकायका केन्द्रीय प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति थियो ।
बैठकमा आयोजना गर्न लागिएको अन्तर जिल्ला समन्वय सत्र र अन्य प्रस्तुतिहरू स्थगन गरिएको भए पनि पूर्वनिर्धारित सुरक्षा ब्रिफिङ सत्र भने सञ्चालन गरिएको छ । उक्त ब्रिफिङमा प्रदेशस्तरीय सुरक्षाका रणनीति, विपद् व्यवस्थापन, आपतकालीन तयारी, जिल्लास्तरीय समन्वय र सूचनाको प्रवाहबारे छलफल गरिएको थियो ।
बैठकमा सहभागी अधिकांश सुरक्षा अधिकारी र प्रशासनिक पदाधिकारीहरूले रसुवाको अवस्था तत्काल हेर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यक्रम छोट्याउने निर्णयलाई समर्थन गरेका छन् । बाढीको तत्कालीन स्थिति, मानवीय क्षति, बेपत्ता सुरक्षाकर्मीको अवस्थासहित गृह मन्त्रालयले प्रमुख विषयवस्तुलाई तत्काल समन्वय गरी निष्कर्ष निकालेको बताइएको छ ।