• १६ पुस २०८१, मङ्गलबार

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका प्रधानमन्त्रीबीच भेटवार्ता

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।

इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र उहाँका बङ्गलादेशी समकक्षीबीच आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उहाँहरुबीच राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा भेटवार्ता भएको हो ।

यस्तै, उहाँहरुबीच कृषि, जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि महत्त्वपूर्ण छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । त्यसका अलावा दुई प्रधानमन्त्रीबीच क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा पनि महत्त्वपूर्ण छलफल भएको थियो ।  

सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसाल, परराष्ट्र मन्त्रालयका अधिकारीका अलावा नेपाली प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । त्यस्तै, बङ्गलादेशका उच्च सरकारी अधिकारीको पनि उपस्थिति थियो ।

बङ्गलादेशले नेपालबाट तत्कालै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । यस्तै, सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने बताउँदै आएको छ । केही महत्त्वपूर्ण जलविद्युत आयोजनामा समेत बङ्गलादेशले लगानी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डको हालैको भारत भ्रमणका क्रममा नेपाल, भारत र बङ्गलादेशबीच विद्युत व्यापारका सम्बन्धमा त्रिदेशीय सहमतिको वातावरणसमेत बनेको छ । यस्तै, नेपाल र बङ्गलादेशबीच रहेका विभिन्न संयन्त्रमार्फत द्विपक्षीय हित र चासोका क्षेत्रमा समेत विचार विमर्शका अलावा, अनुभवको आदानप्रदानसमेत भइरहेको छ ।