• १९ वैशाख २०८३, शनिबार

पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च

blog

इस्लामाबाद, वैशाख १९ गते । पाकिस्तानमा वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धि अर्थात् मुद्रास्फीति अप्रिल महिनामा उल्लेखनीयरूपमा बढेको छ । वार्षिकरूपमा हेर्दा मुद्रास्फीति दर १०.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना मार्चमा रहेको ७.३ प्रतिशतको तुलनामा धेरै उच्च हो ।

यसले देशमा मूल्य वृद्धि तीव्र गतिमा भइरहेको संकेत गर्दछ । आधिकारिक तथ्यांकअनुसार, मासिकरुपमा पनि मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । अप्रिल महिनामा मात्रै मुद्रास्फीति २.५ प्रतिशतले बढेको छ, जबकि मार्च महिनामा यो वृद्धि १.२ प्रतिशत मात्र थियो । यसले छोटो अवधिमै मूल्य वृद्धि दर तीव्र भएको देखाउँछ ।

सहरी र ग्रामीण दुवै क्षेत्रमा मुद्रास्फीति बढेको छ । शहरी क्षेत्रमा वार्षिकरूपमा मुद्रास्फीति ११.१ प्रतिशत पुगेको छ, जुन मार्च महिनामा ७.४ प्रतिशत थियो । यसको अर्थ शहरमा बसोबास गर्ने मानिसले दैनिक उपभोगका वस्तु र सेवामा बढी मूल्य तिर्नुपरेको छ । त्यस्तै, ग्रामीण क्षेत्रमा पनि मुद्रास्फीति १०.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको ७.२ प्रतिशतभन्दा उल्लेखनीयरूपमा बढी हो ।

यसले गाउँ क्षेत्रमा पनि जीवनयापन खर्च बढ्दै गएको देखाउँछ । मासिक आधारमा हेर्दा, शहरी क्षेत्रमा मूल्य वृद्धि २.७ प्रतिशत पुगेको छ, जुन मार्च महिनाको १.३ प्रतिशतभन्दा बढी हो । ग्रामीण क्षेत्रमा पनि मुद्रास्फीति २.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनामा १ प्रतिशत मात्र थियो । यसले दुवै क्षेत्रमा छोटो समयमै मूल्य तीव्ररूपमा बढेको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा औसत मुद्रास्फीति ६.१९ प्रतिशत छ । 

यो दर गत वर्षको सोही अवधिमा रहेको ४.७३ प्रतिशतभन्दा बढी हो, जसले समग्ररूपमा यस वर्ष मूल्य वृद्धि दर बढेको स्पष्ट देखाउँछ । यसरी, हालको तथ्यांकले पाकिस्तानमा दैनिक उपभोगका वस्तु तथा सेवा महांगिदै गएको र नागरिकको जीवनयापन खर्चमा दबाब बढिरहेको संकेत गर्दछ । रासस/सिन्ह्वा