भदौ १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जुलेबी’ को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘आज मन’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा केतन क्षेत्रीको स्वर, कोसिस क्षेत्री र केतनको शब्द तथा सङ्गीत छ ।
चलचित्र ‘नाङ्गो गाउँ’ को गीत ‘पहिलो नम्बर’ सार्वजनिक भएको छ । भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी योगीको सङ्गीत छ ।
लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेश अस्तव्यस्त बनेको छ । तराई–पहाड जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएसँगै पहाडी जिल्लाको जनजीवन प्रभावित भएको हो । सात जिल्ला जोड्ने यस राजमार्गको गोदावरी नगरपालिका–४ स्थित भावर सडकखण्ड क्षेत्र केही दिनदेखि अवरुद्ध छ । केही दिनपहिले सडक खुलाइए पनि वर्षाका कारण पुनः अवरुद्ध भएको छ । त्यस्तै महाकाली र कर्णाली नदीको जलस्तर बढेपछि नदी किनारा तथा तटीय क्षेत्रका बस्तीहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । स्थानीयवासीले नदीमा पानीको बहाव बढेसँगै बाढीले मानव बस्ती तथा जमिन कटान गर्न थालेकाले ढुवानको समस्या देखिएको बताएका छन् ।
भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धुमधामसँग मनाइने गौरा पर्वका लागि परदेश गएकाहरू घर फर्किन थालेका छन् । रोजगारीका लागि भारत पसेकाहरू झुलाघाट सीमा नाकाबाट घर फर्कन थालेका हुन् । यो वर्ष अगस्तोदयका कारण कतै भदौ ७ गते त कतै भदौ २१ गते गौरा मनाउने तयारी भइरहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौरा पर्व मनाउन उपयुक्त रहेको जनाएको छ ।
लातभियाका प्रधानमन्त्री क्रिसजानिस करिन्सले सोमबार गठबन्धन साझेदारहरूसँगको मतभेदबीच राजीनामा दिने घोषणा गरेका छन् ।
लोकगायिका हरिदेवी कोइराला यतिबेला निकै व्यस्त हुनुहुन्छ । आफ्ना पुराना र नयाँ गरी २१ गीतको म्युजिक भिडियो बनाउन उहाँ जुट्नुभएको छ । पहिला नै रेकर्ड भएका र जनमानसमा लोकप्रिय भएका केही गीतलाई उहाँ म्युजिक भिडियोमा ल्याउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले गीत हेर्ने जमाना आयो । पहिले क्यासेटमा निकालेका गीत संरक्षण गर्न र पछिल्लो पुस्तालाई सुनाउन पनि म्युजिक भिडियो बनाउनैपर्ने भयो ।”
बालबालिकादेखि पाकासम्म अचेल जुम्बा नृत्यमा भेटिन थालेका छन् । मनोरञ्जनका लागि मात्र नभएर स्वस्थ हुन र तौल घटाउन पनि जुम्बा नृत्यप्रति आकर्षण बढ्दै गएको हो । जुम्बा नृत्यको ताल र चालमार्फत शारीरिक तन्दुरुस्तीका लागि गरिने एक प्रकारको ‘थेरापी’ हो । मोटोपन घटाउन होस् वा स्वस्थ रहन जुम्बाको आकर्षण बढ्दो छ । अहिले कतिपय महानगरपालिका वा नगरपालिकाले वडा वडामा जुम्बाको कक्षा सञ्चालन गरिरहेको पाइन्छ । यसबाहेक निजी क्षेत्रबाट पनि यस्ता कक्षा सञ्चालन भइरहेका छन् ।
नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ । किसानलाई मर्का पर्न नदिने गरी सरकारले तोकिएको न्यूनतम समर्थन मूल्यका आधारमा नियमित रूपमा दुध खरिद गर्न सरोकारवालाले डेरी उद्योगीलाई आग्रह गरेका छन् । डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुध बढी भएको यो अवस्थामा ‘मिल्क होलिडे’ हुन नदिई स्वदेशी ग्रामीण कृषकबाट उत्पादित दुध नियमित रूपमा खरिद गर्न आग्रह गरेका छन् ।
आगामी असोज अन्तिम साता लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना हुने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी, लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूल नाराका साथ असोज २५ र २६ गते काठमाडौँमा गोष्ठी आयोजना हुन लागेको हो ।
मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र किर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैङ्कका छ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेपछि कोशीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो । कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको स्थानीय अनिल चन्द्रवंशीले बताउनुभयो । टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो । बाढीसँगै कटान तीव्र हुँदै गएको छ ।
स्याङ्जाको वालिङमा रहेको अकला नमुना साना किसान कृषि सहकारीले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीले कृषकबाट दुध सङ्कलन गरेर विभिन्न प्रकारका परिकारसमेत उत्पादन गर्दै आएको छ । पशुपालक कृषकले उत्पादन गरेको दुध संस्थाले खरिद गरेर त्यसबाट छुर्पी, पनिर, दही, नौनी, घिउ, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएको सहकारीकी प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले जानकारी दिनुभयो । प्रबन्धक रेग्मीका अनुसार सहकारीले आफैँ दुधबाट बन्ने परिकार बनाएर स्थानीय बजारमा बिक्री गर्दै आएको छ । स्थानीय बजारमा मात्रै खपत नहुने उत्पादित वस्तु बिक्रीका लागि काठमाडौँ पठाउने गरिएको सहकारीले जनाएको छ ।
पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । आज बिहान ४ लाख ३९ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा आज साँझ ५ बजे गरिएको मापनअनुसार तीन लाख ५७ हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी