• १३ पुस २०८२, आइतबार

नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण

blog

राजविराज नगरपालिकाले दाउरा वितरण गरेपछि आगो ताप्दै स्थानीय । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), पुस १३ गते । तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ ।

राजविराज नगरपालिकाले नगरपालिकाको सार्वजनिक स्थानमा आइतबार बिहानै दाउरा वितरण गरेको स्थानीयले बताएका छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनसहित नगरपालिकाका कर्मचारी मिलेर दाउरा बितरण गर्दै सर्वसाधारणलाई चिसोबाट बच्नसमेत आग्रह गर्नुभएको छ ।

कार्यवाहक प्रमुख परविनले अहिले जिल्लामा अत्यधिक जाडो बढेपछि दाउराको अभावमा कसैले कठ्याङ्ग्रिनु नपरोस् भन्ने उद्देश्यले तत्काल राहतका लागि दाउरा वितरण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कामसँगै सबैले न्यानो भएर बस्न आवश्यक छ । बजार, अस्पताल, कार्यालय आउने, जाने तथा स्थानीय सर्वसाधारणलाई यो दाउराले थोरै भए पनि जाडो छल्न राहत मिल्नेछ ।” अत्यधिक चिसो बढेपछि आगो तापेर जाडो छल्नका लागि राजविराज नगरपालिकामा शनिबार नेपाली सेनाले र शुक्रबार डिभिजन वन कार्यालय सप्तरीले दाउरा वितरण गरेको थियोे ।

पछिल्लो तीन दिनदेखि राजविराजको सार्वजनिक स्थान अस्पताल, रूपनी रोड, बसपार्क, जनआन्दोलन चोक, गजेन्द्र चोक, तित्रीगाछी चोक, अदालत रोड लगायतमा दिनभरि दाउरा बाल्न थालेपछि सर्वसाधारणले राहत महसुस गर्दैआएको राजविराज –२ कि नुनुजा खातुनले बताउनुभयो ।