• १३ पुस २०८२, आइतबार

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

blog

नेकपा (एमाले) लमजुङको पार्टी कार्यालय । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, पुस १३ गते । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । 

पार्टी केन्द्रलाई उदृत गर्दै प्रदेश कमिटीले मागेबमोजिम समानुपातिक सांसदका लागि आठ जनाको नाम जिल्लाले सिफारिश गरेको हो । एमाले लमजुङले समानुपातिकतर्फ महिलामा केन्द्रीय सदस्य भगवती थापा क्षेत्री (कल्पना), प्रदेश कमिटीका सचिवालय सदस्य लक्ष्मीदेवी अधिकारीको नाम सिफारिश गरेको छ । 

यसैगरी खस आर्यतर्फ प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, प्रदेश कमिटीका सदस्यद्वय फूलबहादुर थापा र मोहनहरि पौडेलको नाम सिफारिश भएको छ । त्यसैगरी जनजातितर्फ सिफारिशका लागि प्रदेश कमिटीमै रहनुभएका प्रेमबहादुर घले, र महेन्द्रलाल श्रेष्ठ तथा दलिततर्फ प्रदेश कमिटी सदस्य नन्दराम विश्वकर्माको नाम सिफारिश हुनु भएको एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले बताउनु भयो ।

अध्यक्ष विष्टले उहाँहरूको नाम सर्वसम्मत छनाेट गरेर एमाले गण्डकी प्रदेश कमिटीलाई जानकारी गराइएको र प्रदेशबाट केन्द्रमा कति जना सिफारिश हुन्छन् त्यो भने अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताउनु भयो । 

जिल्ला अध्यक्ष विष्टका अनुसार केन्द्रबाट प्रदेश कमिटी अध्यक्षलाई नामावली पठाउन निर्देशन आएपछि प्रदेश अध्यक्षले जिल्ला कमिटीसँग नाम माग गर्नु भएको थियो । त्यसअनुसार जिल्लाबाट निर्वाचित केन्द्रीय नेतृत्व तथा सदस्यहरू र जिल्ला नेतृत्वसँग परामर्श गरी नामवली सिफारिस गरिएको उहाँले बताउनु भयो । 

एमालेले पार्टी नीतिप्रति प्रतिबद्ध, पार्टीको काममा निरन्तरता, समाजमा स्थापित, लोकप्रिय, स्वच्छ छवि भएका व्यक्ति सिफारिश गर्न निर्देशन दिएको थियो । एक पटक समानुपातिकमा परेका र हाल जनप्रतिनिधि रहेकालाई सिफारिश नगर्ने मापदण्ड एमालेले बनाएको छ ।   

सिफारिस गरिएका मध्ये धनञ्जय दवाडी २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनु हुन्छ । सिफारिश हुनु भएका मध्ये घले क्व्होँलासोँथर गाउँपालिकाको पूर्व प्रमुख र अधिकारी बेँसीसहर नगरपालिकाको पूर्व उपप्रमुख हुनु हुन्छ । विश्वकर्मा यसअघि पनि प्रतिनिधि सभाको समानुपातिक बन्द सूचीमा हुनु हुन्थ्यो ।