• १३ साउन २०८१, आइतबार

‘मिल्क होलिडे’ हुन नदिन आग्रह

blog

काठमाडौँ, साउन ३० गते । नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ । किसानलाई मर्का पर्न नदिने गरी सरकारले तोकिएको न्यूनतम समर्थन मूल्यका आधारमा नियमित रूपमा दुध खरिद गर्न सरोकारवालाले डेरी उद्योगीलाई आग्रह गरेका छन् । 

डेरी उद्योगीको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दुध बढी भएको यो अवस्थामा ‘मिल्क होलिडे’ हुन नदिई स्वदेशी ग्रामीण कृषकबाट उत्पादित दुध नियमित रूपमा खरिद गर्न आग्रह गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, “सरकारले गत फागुन १९ गते प्रतिलिटर चार प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफमा कायम भएको न्यूनतम समर्थन मूल्यभन्दा तल नगई सबै उद्योगले आफूलाई आवश्यकभन्दा बढी दुधसमेत सङ्कलन गरी बाँच र बचाउको नीति अवलम्बन गरी दुधको उत्पादन वृद्धिमा लागेका ग्रामीण कृषकको आत्मबल उच्च बनाई राख्न सबै सरोकारवाला डेरी उद्योगीमा हार्दिक अनुरोध गरिन्छ ।” 

आर्थिक मन्दीका कारण दुध तथा दुग्धजन्य पदार्थको खपत दिनदिनै घट्दै गएको उल्लेख गर्दै ती सङ्गठनले दुध खपत नभएका कारण ठुलो परिमाणमा धुलो दुध र मक्खनको मौज्दात रहेको बताएका छन् । अहिले दुधको उत्पादन कमी हुने (लिन सिजन) मा पनि देशभर दुधको उत्पादन र उपलब्धता ह्वात्तै बढेका कारण मूल्य शृङ्खलामा माग र आपूर्तिको समन्वय हुन नसक्दा दुध व्यवस्थापनमा समस्या भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी गराउनुभएको छ । 

डेरी उद्योगीसँग धुलो दुध, मक्खनलगायतका दुग्ध पदार्थ पर्याप्त मौज्दात छन्, राख्ने ठाउँ पनि छैन, त्यसैले दुध गरिद गरेर धुलो दुध बनाउने अवस्था नरहेको बताउँदै उहाँले दुध खपत कम भएका कारण किसानबाट सबै दुध खरिद गर्न निकै गाह्रो भइरहेको बताउनुभयो । गाह्रो भए पनि उद्योगीलाई नियमित रूपमा दुध खरिद गर्न आग्रह गर्दै आएको उहाँले बताउनुभयो । 

डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले भन्नुभयो, “एक त अनौपचारिक क्षेत्रले दुध खरिद गर्न छाडेपछि औपचारिक क्षेत्रमा दुध फालाफाल भएको छ । यही बेला भारतबाट लुकिछिपी दुध तथा दुग्ध पदार्थ पनि नेपाल आउन थालेपछि झन् समस्या भइरहेको छ ।” भारतबाट दुध तथा दुग्धजन्य पदार्थ भइरहेको चोरी निकासीलाई सरकारले तत्काल रोक्नुपर्ने कुरामा जोड दिँदै ती सङ्गठनले भारतबाट चोरी पैठारी भइआउने दुधलाई रोक्न सकिएन भने नेपालमा देखिएको दुधको समस्यालाई समाधान गर्न गाह्रो हुने जनाएको छ । 

साथै देशभरि नै फैलिएको ‘लम्पी स्किन’ रोगका कारण किसानको अर्बौंको क्षति भोग्नु परेकाले यसको रोकथाम गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन् ।