भवानीदत्त भट्ट
कञ्चनपुर, असार २२ गते । कञ्चनपुरमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ । असार पहिलो सातादेखि जिल्लामा कृषकहरूले धान रोपाइँ सुरु गरेकोमा हालसम्म ६० प्रतिशतभन्दा बढी खेतमा धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महेन्द्रनगर, कञ्चनपुरले जनाएको हो ।
कञ्चनपुरमा कुल खेतीयोग्य जमिन ५९ हजार ६०२ हेक्टर छ । जिल्लामा ४८ हजार चार सय ९६ हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महेन्द्रनगर, कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले जानकारी दिनुभयो ।
५९ हजार ६०२ हेक्टरभन्दा बढि धान खेतीयोग्य जग्गामध्ये ३२ हजार आठ सय हेक्टर जग्गामा धान रोपाइँ सम्पन्न भएको सूचना अधिकारी साउदले बताउनुभयो ।
उहाँका अनुसार ३० प्रतिशतभन्दा बढी आकाशे पानीको भरमा खेती हुने गरेको कञ्चनपुरमा अहिले दैनिक तीन हजार हेक्टर जग्गामा धान रोपाइँ भइरहेको छ । केही दिन यता दिनहुँ पानी परेका कारण किसानहरुलाई धान रोपाइँको चटारो रहेको भीमदत्त नगरपालिका २ उल्टाखामका मानबहादुर कार्कीले बताउनुभयो । नहरको सिँचाइ सुविधा पुगेका कारण बेलौरी नगरपालिका– ९ मा पनि धान रोपाइँ सकिएको कृषक गोपाल चौधरीले बताउनुभयो ।
असार महिनाको सुरुवातसँगै पानी पर्न थालेपछि समयमै धान रोप्न किसानहरू व्यस्त छन् । मनसुन सक्रिय हुँदा यस वर्ष समयमै धान रोपाइँ भएको सूचना अधिकारी साउद बताउनुहुन्छ । सिँचाइ सुविधा नपुगेको कृष्णपुर, लालझाडी, वेदकोटमा धान रोपाइँ कम भएको उहाँको भनाइ छ । आवश्यकता अनुसार पानी पर्ने क्रम जारी रहे शतप्रतिशत खेतमा धान रोपाइँ हुने उहाँको अनुमान छ ।
जिल्लाको बेलडाँडी, बेलौरी, पुनर्वास र भीमदत्तमा ७० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने पानीको अभावमा लाझझाडी, शुक्लाफाँटा र कृष्णपुरमा २५ देखि ३० प्रतिशत मात्र धान रोपाइँ भएको उहाँको भनाइ छ ।
गत वर्ष ४८ हजार ४ सय ९६ हेक्टर जग्गामा रोपाइँ भए पनि एक लाख ९३ हजार नौ सय ८४ कुण्टल धान उत्पादन भएको थियो ।
कुल धान खेतीयोग्य ५९ हजार ६०२ हेक्टर जग्गामध्ये ३९ हजार ६ सय ८५ हेक्टरमा मात्र सिँचाइको सुविधा रहेको बताइएको छ । यस वर्ष पाँच सय ९१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा सिँचाइ सामग्री वितरण गरिएको साउदको भनाइ छ । जसले गर्दा यस वर्ष झण्डै ६ सय हेक्टर क्षेत्रफलमा बढी धान उत्पादन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।