• २२ असार २०८२, आइतबार

सामुदायिक वनमा सामूहिक जडीबुटी खेती

blog

देवघाट जडीबुटी खेती गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २२ गते । तनहुँको देवघाट–५ को तीन सामुदायिक वन उपभोक्ता समितिले जडीबुटी खेती सुरु गरेका छन् । मधुवन, चक्रवर्ती र रानीवन समूहले सुरु गरेका हुन् । सामुदायिक वना आबद्ध किसानको आय वृद्धि गर्ने उद्देश्यले सामूहिक रुपमा जडीबुटी सर्पगन्धाको व्यावसायिक खेती गरिएको सबडिभिजन वन कार्यालय देवघाटले जनाएको छ ।

चार रोपनी जग्गामा सर्पगन्धाको आठ हजार बिरुवा रोपण गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताउनुभयो । डिभिजन वन कार्यालयले चार लाख र सामुदायिक वन समूहले एक लाख १० हजार रुपियाँ लगानी गरी व्यावसायिक रुपमा खेती सुरु गरिएको अधिकारीले जानकारी दिनुभयो । सर्पगन्धाको महत्त्व र उपयोगिता बुझेर नै व्यवसायिक खेती गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो, ‘‘उपभोक्ताको आय वृद्धि गर्न सामूहिक रुपमा खेती सुरु गरेका हौं ।’’

चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिले चार हजार र रानीवन समूहले एक हजार सर्पगन्धाको बिरुवा रोपेका छन् । पहिला काठजन्य बिरुवा रोप्ने सामुदायिक वनमा अहिले भने महत्त्वपूर्ण तथा दुर्लभ वनस्पतिका रूपमा लिइने सर्पगन्धाको बिरुवा रोप्न थालिएको हो । देवघाट–५ कै कालिका सामुदायिक वन तथा वडा नं १ को सुनझाँक्री सामुदायिक वनले भने आफैं उम्रिएको सर्पगन्धाको संरक्षण गर्न थालेको छ ।

चक्रवर्ती सामुदायिक वन समूहका अध्यक्ष टुकनाथ अधिकारीले वनमा बढेको झाडी फाँडेर बहुमूल्य जडीबुटीका रूपमा रहेको सर्पगन्धाको खेती गरिएको जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनले परम्परागत रुपमा भन्दा पनि बढी आयआर्जन हुने वनस्पति लगाएर विपन्नको आयवृद्धि गर्न यस्ता व्यावसायिक खेतीले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सबडिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्णप्रसाद भट्टले वन समूहका उपभोक्तालाई सर्पगन्धाको महत्त्वको बारेमा जानकारी गराएपछि यसको व्यावसायिक खेती गर्न उत्प्रेरित भएको बताउनुयभो  । झाडी ठानेर यसलाई मास्ने गरेकोमा सर्पगन्धाको महत्त्व र उपयोगिताका बारेमा जानकारी गराएपछि  हाल व्यावसायिक खेती सुरु गरिएको भट्टले जानकारी दिनुभयो ।  दुई सयदेखि पाँच सय मिटरको उचाइमा रहेको जग्गामा मात्र सर्पगन्धाको खेती गर्न सकिने हुँदा देवघाटकै वडा नं १ र ५ बाहेक अन्य वडाका सामुदायिक वनले भने यसको खेती गर्न सम्भव नरहेको भट्टको भनाइ छ ।

सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाइन र एजमालिन आदि नामका मुख्य वनस्पतिजन्य रसायन उच्च रक्तचाप, निद्रा नलाग्ने, डिप्रेसन, मानसिक उत्तेजना र मृगीजस्ता रोगहरूमा समेत उपयोगी भएकाले हानिरहित प्राकृतिक औषधीका रूपमा यसलाई प्रयोग गर्न मिल्ने भट्ट बताउनुहुन्छ । भट्टका अनुसार देवघाटमा पहिलोपटक व्यावसायिक खेती गरिएको हुँदा जनकपुर र सर्लाहीबाट प्रतिबिरुवा रु. ५० का दरले खरिद गरिएको हो । सरकारले आर्थिक समृद्धिका लागि प्राथमिकता राखेका ३० प्रकारका जडीबुटीमध्ये सर्पगन्धा एक हो । यसको निकासी भन्सार दर नै प्रतिकेजी रु. ५० तोकिएको छ । यसको राम्रो संरक्षण गर्नसके दुई वर्षपछि देवघाटका सामुदायिक वनले सर्पगन्धाको जरा बिक्रीबाट आम्दानी गर्न सकिन्छ ।