• ९ मंसिर २०८१, आइतबार

एकसाथ एक्काइस म्युजिक भिडियो

blog

लेखनाथ समाचारदाता

लेखनाथ, साउन ३० गते । लोकगायिका हरिदेवी कोइराला यतिबेला निकै व्यस्त हुनुहुन्छ । आफ्ना पुराना र नयाँ गरी २१ गीतको म्युजिक भिडियो बनाउन उहाँ जुट्नुभएको छ । पहिला नै रेकर्ड भएका र जनमानसमा लोकप्रिय भएका केही गीतलाई उहाँ म्युजिक भिडियोमा ल्याउँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले गीत हेर्ने जमाना आयो । पहिले क्यासेटमा निकालेका गीत संरक्षण गर्न र पछिल्लो पुस्तालाई सुनाउन पनि म्युजिक भिडियो बनाउनैपर्ने भयो ।” 

कोइरालाले दुई महिनाअघि युट्युब च्यानल खोल्नुभएको छ । आफ्ना गीतको म्युजिक भिडियो त्यसैमा राखेर दर्शक, श्रोतासम्म पुग्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “अहिले गीतमा हुने लगानीबाट केही रिटर्न हुँदैन । तथापि सिर्जनाको मोह छ, आफ्ना गीतको माया सन्तान जस्तै लाग्दो रहेछ ।”

यसपालिको तीजलाई लक्ष्य गरी उहाँका दुई नयाँ र तीन पुराना तीजगीतका म्युजिक भिडियो आउँदै छन् । ‘प्याउली जोवन’ र ‘छोराछोरी हुर्के बढे’ उहाँका बजारमा आउन लागेका तीजगीत हुन् । उहाँले भन्नुभयो, “यसपालिको तीजअघि नै पाँच तीजगीतका म्युजिक भिडियो दर्शकसमक्ष आउँदै छन् । बर्सेनि तीजमा कुनै न कुनै खालका मौलिक गीत ल्याउने गरेकी छु ।” पछिल्लो समय आएका केही तीजगीतले संस्कृतिमाथि अतिक्रमण गरेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “गीत सभ्य, सरल, जनमानसमा भिज्ने, नेपाली जीवन बोल्ने हुनु पर्छ ।” 

म्युजिक भिडियोमा आउन लागेका अरू गीतमा चर्चित ‘पाइनँ खबर’ पनि छ । चार नयाँ लोकगीत र १२ पुराना छन् । हे राजै पियारा, सितारा राखेको डोरी, जाऊँ हिँड रेलैमा र रेलैको झ्यालैमा जस्ता उहाँका पुराना चर्चित गीतको पनि म्युजिक भिडियो तयार हुँदै छ । यी सबै गीतमा शब्द, लय र गायन कोइरालाकै छ । दोहोरी गीतमा पुरुषोत्तम न्यौपाने, अमरविरही गुरुङ, नारायण रायमाझी, प्रेमराजा महतलगायतले साथ दिनुभएको छ । पोखरा र आसपासमा करिब २० दिन लगाएर गीतको छायाङ्कन गरिएको छ । अहिले म्युजिक भिडियो मुनाल फिल्म्समा सम्पादन हुँदै छन् । वासुदेव पोखरेलले भिडियोको निर्देशन गर्नुभएको छ । अझै आफ्ना करिब एक सय गीतको म्युजिक भिडियो बन्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नै खर्चमा सामान्य व्यवस्थापन गरेर भिडियो बनाउँदै गरेको बताउनुभयो ।