खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताउनुभएको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया अगाडि बढाएको छ। उपत्यकाको सार्वजनिक जग्गा संरक्षणको दायित्व आफ्नो रहेको भन्दै प्राधिकरणले अतिक्रमित जग्गा संरक्षण प्रक्रिया अगाडि बढाइएको हो। प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकाभित्रको सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन लागिएको बताउनुभयो।
नेपाल वायुसेवा निगमले आगामी पुस ४ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निगमले हप्ताको तीन दिन भैरहवाबाट दोहा र क्वालालम्पुर उडान गर्ने भएको हो। निगमले भैरहवाबाट उडान सुरु गरेसँगै सोही दिनदेखि यसअघि काठमाडौँबाट विभिन्न गन्तव्यमा कटौती भएका उडानसमेत फुकुवा हुने भएका छन्।
औषधि व्यवस्था विभागले इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल मिसावट भएका औषधि उत्पादन, बिक्रीवितरण नगर्न निर्देशन दिएको छ। विभागले औषधि उत्पादक, आयातकर्ता तथा वितरकलाई यस्ता विषाक्त रसायन मिसावट भएका औषधि बिक्रीवितरण नगर्न निर्देशन दिएको हो। विभागका प्रवक्ता सन्तोष केसीले बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरूमा यस्ता विषाक्त रसायन मिसिएको हुन सक्ने भएकाले बिक्रीवितरण नगर्न विभागले निर्देशन दिएको बताउनुभयो। उहाँले इन्डोनेसिया, जाम्भियालगायतका देशमा इनाथाइल ग्लाइकोल र डाइइथानाइल ग्लाइकोल मिसावट औषधि सेवनबाट बालबालिकाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो। उहाँले नेपालमा सचेतनाका लागि त्यस्ता औषधि आयात नगर्न विभागले निर्देशन दिएको जानकारी दिनुभयो। ती औषधिको यकिन गरेर मात्रै बिक्रीवितरण गर्न निर्देशन दिएको उहाँको भनाइ छ।
पछिल्लो विवरणअनुसार मन्त्री कार्की एक मतले पछाडि पर्नुभएको छ ।
निर्वाचन आयोगले स्याङ्जा–२ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । स्याङ्जा र बाजुरामा मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि विवादका कारण मतगणना सुरु भएको थिएन । विवादकै कारण स्थगित दोलखाको १० वटा मतदान केन्द्रमा भने बिहीबार मतदान हुँदैछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग पदाधिकारीको बैठकले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना सुरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठकमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिलाई मतगणना निर्देशिकाबारे जानकारी गराएपछि गणना सुरु हुनेछ ।”
स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगणना गए रातीबाट सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा (एमाले) की पद्मा कुमारी अर्यालले अग्रता लिनु भएको छ । अर्यालले २३०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका धनराज गुरुङले १७०३ मत पाउनु भएको छ । अर्याल ६०१ मतले अगाडि हुनु हुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाउनु भएको छ ।
विभिन्न सञ्चार माध्यममा काम गर्ने महिला पत्रकारले आफूमाथि अनलाइन हिंसा हुने गरेको बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले २८१ जना महिला पत्रकारमाथि गरेको सर्वेक्षणमा ८८.६ प्रतिशत महिलाले आफूले अनलाइन हिंसा भोगेको बताएका छन् । बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार ५३ प्रतिशतले पत्रकारिता पेसासँग नै सम्बन्धित भएर हिंसा भोगेको बताएका छन् भने ३९.२ प्रतिशतले पेसासँग असम्बन्धित व्यक्तिबाट भोगेका बताएका छन् । सहभागीमध्ये २१ प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसा अफलाइनमा भौतिक आक्रमण र धम्कीको तहसम्म पुगेको बताएका छन् ।
वस्तु आयात–निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ । नेपाल राष्ट्र बैङ्कले आयातमा गरेको कडाइ र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)सम्म कुल वस्तु आयातमा १८ प्रतिशतले कमी आई पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख ८१ हजार रुपियाँको वस्तु आयात भएको छ । सो अवधिमा निर्यातमा ३३ दशमलव ३० प्रतिशतले कमी आई ५४ अर्ब ७७ करोड ४३ लाख १६ हजार रुपियाँको निर्यात भएको छ ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ । करिब तीन महिनाअघि नै सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएकाले नियुक्ति गर्ने वा नगर्ने विवाद छ । संसदीय सुनुवाइको प्रक्रिया सुरु भएपछि प्रतिनिधि सभाको कार्यकाल सकिएकाले प्रक्रियाले पूर्णता पाएको थिएन । न्यायपरिषद्ले गत भदौ २२ गते नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य निर्वाचनमा उच्चस्तरको प्रतिस्पर्धा देखिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ।
प्रत्यक्षतर्फबाट प्रतिनिधि सभामा ४६ मत अन्तरले कांग्रेसलाई पछाडि पारेको नेकपा (एमाले)लाई समानुपातिक तर्फ पाँचथर जिल्लाबाट सात हजार भन्दा धेरै मत प्राप्त भएको छ।
समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगकाअनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको छ। नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत पाएको छ।
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरको रूपमा घोषित गरिएको छ । सप्तरी क्षेत्र ४ बाट नवनिर्वाचित तेजुलाल चौधरीले सो घोषणा गर्नुभएको हो ।