• १३ असोज २०८१, आइतबार

दोलखामा पुनः मतदान आज

blog

काठमाडौँ, मङ्सिर १५ गते । निर्वाचन आयोगले स्याङ्जा–२ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । स्याङ्जा र बाजुरामा मङ्सिर ४ गते मतदान सम्पन्न भए पनि विवादका कारण मतगणना सुरु भएको थिएन । विवादकै कारण स्थगित दोलखाको १० वटा मतदान केन्द्रमा भने बिहीबार मतदान हुँदैछ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोग पदाधिकारीको बैठकले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना सुरु गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठकमा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिलाई मतगणना निर्देशिकाबारे जानकारी गराएपछि गणना सुरु हुनेछ ।”

स्याङ्जा–२ र बाजुरामा पुनः मतदान गर्नुपर्ने मागसहित उजुरी परेको थियो । आयोगले पुनः मतदान गर्नु नपर्ने र मतगणना सुरु गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । प्रक्रियाबमोजिम मतदान सम्पन्न भए पनि भोलिपल्ट उजुरी परेपछि आयोगले मङ्सिर ८ गते चार दिनको समयसीमा तोकेर दुवै निर्वाचन क्षेत्रमा जाँचबुझ गर्न छानबिन समिति पठाएको थियो । समितिले मङ्सिर १३ गते मङ्गलबार प्रतिवेदन बुझाएपछि दुई दिनसम्म आयोग पदाधिकारीबीच पुनः मतदान गर्ने वा गणना सुरु गर्ने विषयलाई लिएर छलफल भएको थियो । 

मङ्सिर ४ गते स्थगित भएको बाजुराको बूढीनन्दा–५ स्थित मतदान केन्द्रमा मङ्सिर १० गते पुनः मतदान भइसकेको छ भने उजुरी परेको दोलखामा समेत मङ्सिर १५ गते (भोलि बिहीबार) पुनः मतदान हुँदैछ । विवादका कारण स्थगित दोलखाको विभिन्न १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय र निर्देशनबमोजिम पुनः मतदान हुन लागेको हो ।

स्याङ्जाको चापाकोट र बाजुराको बूढीनन्दा, बूढीगङ्गालगायतका पालिकामा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको थियो । नेकपा (एमाले)का प्रतिनिधिले सोमबार आयोग पुगेर पुनः मतदानको माग गरेका थिए । त्यसको भोलिपल्टै मङ्गलबार नेपाली कांग्रेसका प्रतिनिधिले आयोग पदाधिकारीसँग भेटेर प्रक्रियाबमोजिम मतदान सम्पन्न भइसकेकाले ढिलाइ नगरी तत्काल मतगणना गर्न आग्रह गरेका थिए । स्थलगत छानबिन प्रतिवेदनसमेतका आधारमा आयोगले ती दुवै क्षेत्रको मतगणना सुरु गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।