• २८ असार २०८२, शनिबार

चेक अनादर गरे कालो सूचीमा पर्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २७ गते । अब चेक अनादर गर्ने व्यक्ति कालो सूचीमा पर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन संशोधन/परिमार्जन/थप गर्दै चेक बाउन्ससम्बन्धी नयाँ व्यवस्था गरेको छ ।राष्ट्र बैङ्कले चेक बाउन्स (चेक अनादर) बेहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२ जारी गर्दै चेक अनादर गर्ने व्यक्तिलाई कालो सूचीमा राख्न सकिने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार चेक अनादर गरेको बेहोरा प्रमाणित गर्ने कार्यविधिबमोजिम खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा अनादर हुने चेक जारी गर्ने खातावाला तथा सोसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न धारकले सम्बन्धित बैङ्क वा वित्तीय संस्थासमक्ष निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कालो सूचीमा राख्न निवेदन दिँदा अनादर भएको चेकको सक्कल प्रतिसहित उक्त चेक अनादर प्रमाणित भएको मितिले छ महिनाभित्र कालो सूचीमा राख्न सम्बन्धित बैङ्क तथा वित्तीय संस्थासमक्ष निवेदन दिनुपर्ने कार्यविधिमा उल्लेख छ ।

अनादर प्रमाणित भएको चेक जारी गर्ने (उक्त चेक जारी गर्न दस्तखत गर्ने व्यक्तिसमेत) व्यक्ति, फर्म, कम्पनी वा संस्था तथा निजसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न निवेदन प्राप्त भएको पाँच कार्य दिनभित्र सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रलाई लेखेर पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

कुनै कारण चेक हराएको, चोरी भएको वा अनधिकृत रूपमा प्रयोग गरे/गराएको जस्ता औचित्यपूर्ण आधारमा खातावालाले चेक ‘स्टप पेमेन्ट’ गरेको अवस्थामा बाहेक अन्य अवस्थामा चेक जारी गरिसकेपछि ‘स्टप पेमेन्ट’ गरेको भए पनि त्यस्तो चेक भुक्तानी नभएमा चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थालाई चेकको रकम भुक्तानी गर्न सार्वजनिक बिदाबाहेक सात दिनको समय दिई जानकारी दिनुपर्ने व्यवस्था कार्यविधिमा छ ।

सात दिनभित्र पनि रकम भुक्तानी हुन नसकेमा धारकको अनुरोधमा उक्त चेक जारी गर्ने व्यक्ति वा संस्था तथा सोसँग सम्बन्धित पक्षलाई कालो सूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनुपर्ने छ ।