काठमाडौँ, असार २८ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीले यात्रुसँग अनिवार्य मिजासिलो भएर प्रस्तुत हुनुपर्ने आचारसंहिता लागु गरिएको छ ।
कार्यालयले शुक्रबार आचारसंहिता जारी गर्दै यात्रुसँग थोरै र आवश्यक प्रश्न मात्र गर्ने, खाडी मुलुकलगायतका देशमा श्रमका लागि जाने यात्रुलाई विशेष सम्मानयुक्त शब्द प्रयोग गर्नुपर्ने र रुखो व्यवहार नगरी नरम तथा मिजासिलो शैलीमा प्रस्तुत हुनुपर्ने बताएको छ । कर्मचारीले प्रस्थान गर्ने सेवाग्राहीलाई अनिवार्य रूपमा ‘शुभयात्रा’ तथा आगमन गर्ने यात्रुलाई ‘हजुरलाई नेपालमा स्वागत छ’, ‘तपाईंको दिन शुभ रहोस्’ भन्नुपर्ने छ । उक्त आचारसंहितामा अध्यागमन कर्मचारी कानुनी, सामाजिक, सांस्कृतिक मूल्यप्रति थप संवेदनशील र जवाफदेही बन्नुपर्ने छ । अध्यागमन कर्मचारीले व्यक्तिगत, पदीय एवं पेसागत आचारण तथा व्यवहार सेवाग्राहीले गर्दा असल अनुभूत गर्नेखालको हुनुपर्ने छ । साथै सेवा प्रवाहलाई छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउनुपर्ने छ ।
अध्यागमन राष्ट्रको मुहार झल्किने स्थान रहेकाले हरेक पर्यटकसँग प्रस्तुत हुँदा आत्मीय रूपमा प्रस्तुत हुनुपर्ने छ । यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि सेवाग्राहीले पाएको सेवा प्रवाहबारे तत्काल मूल्याङ्कन गरी उत्कृष्ट, सन्तोषजनक र औसत सेवा भनी अध्यागमन सेवाबारे प्रतिक्रिया दिन पाउने छन् ।
परिचय खुल्ने पहिरनमा रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विदेश भ्रमणमा जाने यात्रुका लागि कुनै पनि सङ्घ, संस्थाको परिचय खुल्ने पहिरन तथा खादा, माला लगाउन रोक लगाइएको छ । अध्यागमन कार्यालयले बुधबार सूचना जारी गरी विमानस्थलको अध्यागमन क्षेत्र सुरक्षाका दृष्टिले संवेदनशील हुने भएकाले कुनै पनि सङ्केत खुल्ने पहिरन, पोसाक, खादा, माला लगाउन निषेध गरेको हो ।
वैदेशिक रोजगारी तथा भिजिट भिसामा जाने यात्रुले म्यानपावर, ट्राभल एजेन्सी वा विभिन्न प्रकारका सङ्घ संस्थाको लोगो, चिह्न भएका टिसर्ट, टोपी, झोला, ब्याच, रिङ तथा खादा, माला प्रयोग गर्दै आएका थिए ।
अध्यागमन उच्च स्रोतका अनुसार भिजिट भिसालगायत अन्य प्रयोजनका लागि विदेश जाने कतिपय यात्रुले विभिन्न गिरोहको सेटिङमा यस्ता चिह्न प्रयोग गरेको शङ्कापछि यी वस्तु प्रयोगमा रोक लगाइएको हो । कतिपय अध्यागमन कर्मचारीसमेत यस्तो सेटिङमा संलग्न हुन नपाऊन् र सबै यात्रुलाई समान व्यवहार गरून् भन्ने उद्देश्यले परिचय खुल्ने जुनसुकै प्रकारका पहिरनमा रोक लगाइएको हो ।
त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालाले कुनै पनि प्रकारको अवाञ्छित गतिविधि नहोस् र सबै यात्रुलाई समान व्यवहार होस् भन्ने उद्देश्यले यस्तो नियम लागु गरिएको बताउनुभयो । अध्यागमन प्रक्रियामा सहभागी हुँदा वा काउन्टरमा रहँदा जुनसुकै परिचय खुल्ने पहिरन खादा, मालामा रोक लगाएको बताउँदै कोइरालाले भन्नुभयो, “अध्यागमन सेवालाई थप सुरक्षित, मर्यादित, व्यवस्थित बनाउनेक्रममा सुधारको प्रयास अनुरूप यो नियम लागु गरिएको हो ।”
उहाँले अध्यागमन प्रयोग गर्ने सबै सेवाग्राहीसँग समान व्यवहार रहोस्, परिचय खुल्ने र नखुल्नेबिच सेवा प्रवाहमा फरक नहोस् भन्ने उद्देश्यसाथ नयाँ निमय लागु गरिएको बताउनुभयो ।
साथै उहाँले विशेष चिह्न वा खादा, माला प्रयोग हुँदा सम्भावित सुरक्षा जोखिम बढ्न सक्ने, अनावश्यक ढिलाइ हुन सक्ने देखिएकाले पनि यस्ता वस्तु प्रयोगमा रोक लगाइएको बताउनुभयो । यसै गरी अध्यागमन जाँचक्रममा सेवाग्राहीको पासपोर्ट, भिसा, टिकट, बैङ्क भौचरलगायतका कागजात चेकजाँच गरी विद्युतीय प्रणालीमा सुरक्षित राख्ने प्रक्रियालाई थप कडाइ गरेको जनाइएको छ ।