• २८ असार २०८२, शनिबार

सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्कियो जहाज

blog

ताप्लेजुङको सुकेटार विमानस्थल आसपासमा लागेको हुस्सु–कुहिरो । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, असार २७ गते ।
काठमाडौँबाट ताप्लेजुङ आएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको हो ।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो । बिहान काठमाडौँबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँदेखि ताप्लेजुङका लागि चार जना यात्रु लिएर जहाज उडेको थियो । उनीहरु सदरमुकामसम्म आइपुगेर पनि जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँमै ओर्लिने भएका छन् । ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न सात जना यात्रुले होडिङ पास लिएर घण्टौँसम्म प्रतीक्षामा बसेका थिए । अतिआवश्यक कामका लागि काठमाडौँ जाने योजनाका साथ प्रतीक्षामा बसेका यात्रु जहाज अवतरण नभएपछि निरास हुँदै घर फर्किएका छन् ।

छोटो समयमा नै राजधानी पुगेर काम सम्पन्न गरी फर्किने योजनामा रहेका यात्रु पुन लामो दूरीको गाडीबाटै यात्रा गर्न बाध्य भएका छन् । सुकेटार विमानस्थलमा प्रायः अधिकांश उडानहरू प्रभावित हुने गरेका छन् । जसको प्रत्यक्षमा मारमा जिल्लावासी परेका छन् ।