• १३ असोज २०८१, आइतबार

मङ्सिर २७ सम्म मेलम्चीको पानी वितरण हुने

blog

सिन्धुपाल्चोक, मङ्सिर १५ गते । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मङ्सिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनुभएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौँमा पानी वितरण सुरु गरिने बताउनुभएको हो ।

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ । पानी सुरुङमा हालेको करिब १० देखि १२  दिनपछि  काठमाडौँ पुग्ने मेलम्ची खानेपानी आयोजनाका साइड डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । मेलम्ची खानेपानीको हेडबक्र्स बाँधस्थल हेलम्बु पुगेर मन्त्री चौधरीले अब दीर्घकालीन रूपमै पानी पथान्तरणका लागि कार्ययोजना बनाइएको जानकारी दिनुभयो । उहाँले विभिन्न अध्ययन र प्रतिवेदनअनुसार सरकारले काम सुरु गर्ने बताउनुभयो । सुरुङको १ नम्बर गेटको अवलोकन गर्दै मन्त्री चौधरीले समयमै ढोका बन्द गरेका कारण क्षति नभएको बताउनुभयो । उहाँले थप क्षति नहोस् भनेर अपनाइएको सावधानीका कारण अहिले छिट्टै मेलम्चीको पानी पुनः सुरुङमा हाल्न सफल भएकोमा खुसी पनि व्यक्त गर्नुभयो ।