अभिभावक भनेको बाबुआमा वा संरक्षकलाई जनाउने शब्द हो । बालबालिकालाई जन्मदिने, सँगै राखेर हुर्काउने, बढाउने, स्याहार गर्ने, शिक्षा दिने र संरक्षण गर्ने व्यक्तिलाई अभिभावक भनिन्छ । पालनपोषण गर्ने काम, हेरविचार गर्ने वा संरक्षण गर्ने काम वा अभिभावकले गर्न कामलाई अभिभावन भनिन्छ ।
अभिभावक शिक्षा भनेको बालबालिकाको उमेर अनुसारको विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न सञ्चालन गरिने कार्यक्रम हो । बालबालिकाको उमेर अनुसारको सर्वाङ्गीण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न सञ्चालन गरिने कार्यक्रम अभिभावक शिक्षा हो । अभिभावक शिक्षालाई शिक्षा क्षेत्रमा आएको नवीनतम चिन्तनका रूपमा लिइन्छ । अभिभावक शिक्षा अनौपचारिक शिक्षा हो ।
प्राचीन समयमा परिवारका अगुवा तथा अनुभवी व्यक्ति, ज्येष्ठ नागरिक, धार्मिक गुरुले अभिभावकको काम, कर्तव्यका बारेमा जानकारी दिन्थे भन्ने अनुमान गर्न सकिन्छ । छपाइ कला र प्रविधिको विकास भएपछि धार्मिक ग्रन्थ र नीति शिक्षाबाट अभिभावक शिक्षा स्थानान्तरण हुँदै गयो । औपचारिक र अनौपचारिक शिक्षाको विकाससँगै बिसौँ शताब्दीको सुरुबाट अभिभावक शिक्षाको अभ्यास हुन थाल्यो । विभिन्न सङ्घ संस्थाले अभिभावक शिक्षा विषयमा विभिन्न कार्यक्रम ल्याए । प्रौढ शिक्षा, साक्षरोत्तर शिक्षा, आमा समूह तालिम आदि जस्ता अनौपचारिक शिक्षा कार्यक्रमले पनि अभिभावक शिक्षा दिए । हाल आएर रेडियो, टेलिभिजन, अनलाइन प्रविधि आदि जस्ता सञ्चार माध्यमबाट पनि अभिभावक शिक्षा उपलब्ध भइरहेका छन् । नेपालका विभिन्न ऐन, कानुन र नीतिनियममा उल्लेख भएका अभिभावकको भूमिकासम्बन्धी नीतिगत व्यवस्थाले पनि अप्रत्यक्ष रूपमा अभिभावकको क्षमता विकास गरेका छन् ।
बालबालिकाको सिकाइलाई उपलब्धिमूलक बनाउन विद्यालय, शिक्षक र विद्यार्थीको मात्र भूमिका पर्याप्त हुँदैन, यसमा अभिभावकको संलग्नता हुन जरुरी छ । शिक्षासम्बन्धी विभिन्न ऐन, नियमावली, कार्यविधिमा अभिभावकको भूमिका उल्लेख भएको हुन्छ । त्यस्तो भूमिका निर्वाह गर्ने सिपको विकास गर्न अभिभावकलाई सक्षम बनाउन अभिभावक शिक्षा चाहिन्छ ।
अभिभावकले बालबालिकाबाट सोधिने जिज्ञासा ध्यानपूर्वक सुन्ने, आवश्यकता पूरा गर्ने, उनीहरूसँग खेल्ने वा उनीहरूको कुरा सुनिदिने, सिर्जनात्मक कार्य गर्ने, सोधेका प्रश्नको चित्त बुझ्दो उत्तर दिने, असल बानीको विकास गर्न बालबालिकालाई व्यक्तिगत तथा वातावरणीय सरसफाइमा सहभागी गराउने, रोग, महामारी र सुरक्षा सावधानीका सम्बन्धमा बताउने, आपत्विपत् र सङ्कटमा संरक्षण दिने आदि जस्ता काम गर्नु पर्छ । यसका लागि अभिभावकको ज्ञान, सिप र क्षमता बढाउनुपर्ने भएकाले अभिभावक शिक्षा कार्यक्रम आवश्यक छ ।
अभिभावकको भूमिका निर्वाह गर्न आवश्यक पर्ने शिक्षा र बाल अधिकारसम्बन्धी ज्ञान र जीवन सिप (लाइफ स्किल) प्रदान गर्नु अभिभावक शिक्षाको मुख्य अभिप्राय हो । अभिभावकलाई बालबालिका र आश्रित सदस्यप्रतिको उत्तरदायित्व बोध गराउनु, अभिभावक र बालबालिका बिचमा हुने सञ्चारलाई सुधार गर्नु, बालबालिकालाई बालतालिम र बालकार्य गराउन, परिवारका सदस्यमा जीवन सिप (लाइफ स्किल) स्थानान्तरण गर्नु, घरपरिवारमा सकारात्मक मानसिकता र आत्मविश्वासको भावना विकास गर्नु–गराउनु, विद्यालय र अन्य सेवाप्रदायक संस्थाले प्रदान गर्ने सेवाको प्रवाहमा अभिभावकको भूमिका जानकारी गराउनु, विद्यालय, विद्यार्थी र समुदायबिचको सम्बन्धलाई घरपरिवारसम्म पु¥याउनु, विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न सहयोग गर्नु, घरपरिवारमा उपयुक्त शैक्षिक वातावरणको सिर्जना गर्नु, ज्ञानमा आधारित समुदायको विकास गर्नु, अभिभावकलाई सक्षम र सशक्त बनाउनु अभिभावक शिक्षाका उद्देश्य हुन् ।
विद्यालय अभिभावक शिक्षाका विषयवस्तु विद्यालय शिक्षा र बालबालिकाको पठनपाठनका बारेमा सचेतीकरण गर्ने र क्षमता विकास गर्ने विषयक्षेत्र हुन् । अभिभावक शिक्षाको प्रकृति अन्तरविषयक र बहुविषयक दुवै हुन्छ किनभने यसले विस्तृत क्षेत्र समेट्छ । अभिभावक शिक्षाको विधिमा तालिम, अभिमुखीकरण, प्रचारप्रसार, सडक नाटक, अन्तर्क्रिया, छपाइका सामग्री, रेडियो टेलिभिजन कार्यक्रम, सामाजिक सञ्जालका अडियो भिज्युअल आदि जस्ता सबैखाले समकालीन माध्यमको प्रयोग गर्न सकिन्छ । अभिभावकको अर्थ, असल अभिभावकमा हुनुपर्ने गुण, अभिभावक शिक्षाको विकास, अभिभावक शिक्षाको आवश्यकता, अभिभावक शिक्षाको महत्व, अभिभावक शिक्षाको उद्देश्य, बालबालिकाको शिक्षा, स्वास्थ्य, शारीरिक, बौद्धिक र मानसिक विकास आदि क्षेत्रमा अभिभावकको भूमिका, विद्यालय शिक्षाप्रति अभिभावक र समुदायको गलत अवधारणा अभिभावक शिक्षाका मुख्य विषयवस्तु हुन् । एक पटक तयार गरिएको विषयवस्तु र स्रोत सामग्री सधैँभरि सान्दर्भिक नहुन सक्छ, त्यसैले समय परिस्थिति अनुसार अभिभावक शिक्षाको पाठ्यक्रम र विषयवस्तुलाई परिमार्जन गर्नु पर्छ ।
विद्यालय शिक्षाका बारेमा यदाकदा केही अलग प्रतिक्रिया व्यक्त गर्ने गरेको पाइन्छ । बालबालिकालाई पढाउने जिम्मेवारी शिक्षकको हो । बालबालिकालाई दैनिक स्कुल पठाए पुग्छ । पढाइ लेखाइमा कमजोर हुनु भनेको शिक्षकले नपढाएर हो । परीक्षामा पास, फेल शिक्षककै कारणले हुन्छ । शिक्षाको गुणस्तर खस्किनुको कारण कि त विद्यालय कि त शिक्षककै कमजोरी हो । विद्यालय शिक्षाप्रति आउने यस्ता अवधारणा गलत हुन् । बालबालिकाको शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउन विद्यालय र शिक्षकलाई मात्र दोष थुपारेर पन्छिन् मिल्दैन, त्यस विषयमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्ता भूमिका के के हुन सक्छन् भनी अभिभावक शिक्षामा छलफल चलाउनु पर्छ । स्थानीय सरकार र विद्यालयले पनि समयसमयमा अभिभावक शिक्षा दिने व्यवस्था मिलाउनु पर्छ । अनि मात्र विद्यालय र शिक्षककले अभिभावकको साथ सहयोग पाउँछन्, बालबालिकाको सिकाइ उपलब्धि बढ्छ र परीक्षाको नतिजामा पनि सुधार हुन्छ ।
प्रौढ सिकाइ सिद्धान्त (एन्ड्रागोजी) लाई अभिभावक शिक्षाको मुख्य उपागम तथा विधिका रूपमा अपनाउनु पर्छ । भेटघाट, बैठक, छलफल, घरदैलो भ्रमण, माइकिङ, अवलोकन भ्रमण, भूमिका निर्वाह, नमुना प्रदर्शन आदि जस्ता विधिबाट सचेतीकरणका कार्यक्रमबाट अभिभावक शिक्षा दिनु पर्छ । पर्चा, ब्रोसर, पोस्टर, चित्र पुस्तक, गोजी पुस्तिका, न्यूजलेटर, पत्रपत्रिका, पुस्तक, फिल्म, सामाजिक सञ्जाल, मोबाइल एप र भिडियो अभिभावक शिक्षाका लागि प्रयोग गर्न सकिने सामग्री हुन् । विद्यालय, स्वास्थ्य केन्द्र, सामुदायिक केन्द्र, तालिम केन्द्र, ज्येष्ठ नागरिक केन्द्र, मिलन केन्द्र आदि जस्ता सम्बन्धित विषयका सार्वजनिक स्थलमा अभिभावक शिक्षा तालिम सञ्चालन गर्न सकिन्छ । अभिभावक शिक्षाको कार्यक्रम सञ्चालन गर्न प्रशिक्षकमा सहजीकरण सिपसम्बन्धी ज्ञान तथा सिपको आवश्यक पर्छ । अभिभावक शिक्षाको सिद्धान्त र विषयवस्तुका बारेमा सम्बन्धमा जानकार हुनु पर्छ ।
विज्ञ व्यक्तिको समूह, सहजकर्ता समूह, स्थानीय तहको वडा, स्वास्थ्य स्वयंसेविका तथा पोषण कार्यकर्ता, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह, कृषक समूह, बचत सहकारी समूह, विद्यालय शिक्षक, बालविकास केन्द्र र पूर्व प्राथमिक कक्षाका सहजकर्ताबाट अभिभावक शिक्षा प्रदान गर्न सकिन्छ । तालिम गोष्ठीमा अभिमुखीकरण गरेर, रेडियो तथा टेलिभिजनबाट कार्यक्रम प्रसारण गरेर अभिभावक शिक्षा प्रदान गर्न सकिन्छ ।
अभिभावक शिक्षा तालिममा विद्यालय शिक्षा क्षेत्र विषयमा सञ्चालन गरिने कार्यक्रममा विद्यालय जाने बालबालिकाका अभिभावक, अभिभावक सङ्घका पदाधिकारी र शैक्षिक सरोकारवाला सहभागी गराउनु पर्छ । अभिभावक शिक्षा कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गर्नु पर्छ, एक पटक सञ्चालन गरेर पुग्दैन ।
अभिभावक सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट प्रदान गरिने सेवाका प्रभावग्राही हुन् । अभिभावक विद्यालयले प्रदान गर्ने सार्वजनिक सेवाको गुणस्तर, प्रभावकारिता र कार्यान्वयन विधिका बारेमा गुणदोष केलाउने र सुधारका लागि सुझाव दिने सरोकारवाला पनि हुन् । त्यसैले अभिभावक शिक्षा प्रदान गर्ने सरकारी, गैरसरकारी र निजी क्षेत्रका निकायले शैक्षिक सेवाको प्रकार, लक्ष्य, उद्देश्य र वार्षिक कार्यक्रम तथा बजेटको प्रकृति अनुसार अभिभावक शिक्षाको पाठ्यक्रम तयार गर्नु पर्छ । त्यस्ता निकायमा गठन हुने समितिमा अभिभावकको समावेशी प्रतिनिधित्व हुने व्यवस्था मिलाउनु पर्छ । कार्यक्रमको अनुगमनमा अभिभावकलाई पनि सहभागी गराउनु पर्छ । विद्यालयका वार्षिक उत्सव तथा सामाजिक परीक्षणका कार्यमा अभिभावकलाई समावेश गर्नु पर्छ । विद्यालयको वार्षिक कार्यक्रमका बारेमा अभिभावकलाई प्रबोधीकरण गर्नु पर्छ । अभिभावकबाट आएका रचनात्मक सल्लाह र सुझावलाई आवश्यकता अनुसार सम्बोधन गर्नु पर्छ । अनि मात्र विद्यालय र शिक्षकले अभिभावकको साथ पाउँछन् र विद्यार्थीको पठनपाठनलाई उपलब्धिमूलक बनाउन सक्छन् । विद्यालय र शिक्षकको एकल प्रयासले मात्र भने जस्तो शैक्षिक उपलब्धि हासिल हुन सक्दैन ।