• ११ असार २०८२, बुधबार

ललितपुरले ल्यायो ७ अर्ब ४७ करोड बराबरको बजेट: शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता

blog

काठमाडौँ, असार १० गते । ललितपुरको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । 

मङ्गलवार महानगरपालिकाको सातौँ नगर सभामार्फत आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याइएको हो । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य वाचन गर्नुभएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रशासनिक खर्चतर्फ २९ प्रतिशत र पुँजीगत खर्चतर्फ ६१ प्रतिशत बजेट विनियोजन गरेको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिका सम्पदा सहर भएकोले सम्पदा क्षेत्रमा गर्नुपर्ने कामहरूलाई विचार गरेर बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नगरप्रमुख महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने सन्दर्भमा हरियाली, पार्क र पोखरीको राम्रो व्यवस्थापन हुने गरी बजेट ल्याइएको समेत जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्ष २०८२-८३ को लागि ललितपुर महानगरपालिकाले ७ अर्ब ४७ करोडको बजेटको व्यवस्थापन गरिएको छ । यो बजेट मध्येमा ३९ प्रतिशत प्रशासनिक खर्च र बाँकी पुँजीगत खर्चमा परेको छ । हामीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ ।

खानेपानीको लागि पनि हामीले धेरै रकमको व्यवस्थापन गरेका छौँ । ललितपुर महानगरपालिका सम्पदा सहर भएको हुनाले सम्पदा क्षेत्रमा गर्नुपर्ने कामहरूलाई विचार गरेर बजेटको व्यवस्था गरेका छौँ ।

यस्तै, ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने सन्दर्भमा ललितपुर महानगरपालिकामा जहाँ हेरे पनि हरियाली हुने, जहाँ हेरे पनि पार्कको व्यवस्थापन हुने र जहाँ हेरे पनि पोखरीको राम्रो व्यवस्थापन हुने गरी बजेटको विनियोजन गरेका छौँ ।”    

नगरप्रमुख महर्जनले लगनखेलको सप्तपातल पोखरीलाई प्राथमिकतामा राखेर यहीँ वर्षमै सम्पूर्ण काम सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको समेत बताउनु भयो ।