• १० असार २०८२, मङ्गलबार

घरमै विदेशी ‘पिएचडी’, छैन मान्यता

blog

काठमाडौँ, असार १० गते । घरमै बसेर विदेशी विश्वविद्यालयमा भर्ना हुने तर नपढी विद्यावारिधि (पिएचडी) को उपाधि लिने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति बढेपछि त्रिभुवन विश्वविद्यालयले केही व्यक्तिको उपाधि नै रद्द गरेको छ । केही व्यक्तिलाई भने सचेत गराउँदै सम्बन्धित विश्वविद्यालयमा उपस्थित नै भएर अध्ययन गरेको प्रमाण पेस गरेपछि मात्रै विद्यावारिधि उपाधिको समकक्षता दिने भन्दै फिर्ता गराइदिएको छ । विदेशी विश्वविद्यालयबाट प्राप्त विद्यावारिधिको उपाधिलाई समकक्षता प्रदान गर्ने काम त्रिविको पाठ्यक्रम विकास केन्द्रले गर्दछ ।

पछिल्लो समय केन्द्रले भारतको एक विश्वविद्यालयमा भर्ना भए पनि त्यहाँ उपस्थित नै नभई एमफिल तहको उपाधि लिएको पुष्टि भएपछि एक जना व्यक्तिको उपाधि रद्द गरेको छ । केन्द्रका कार्यकारी निर्देशक प्राडा पारशनाथ यादवका अनुसार एमफिल तहको उपाधि हासिल गरिसकेपछि ती व्यक्तिले समकक्षताका लागि निवेदन दिनुभएको थियो । 

उक्त निवेदनमाथि अनुसन्धान गर्दा सम्बन्धित विश्वविद्यालयमा उपस्थित नै नभएको र भर्ना भएकै आधारमा उक्त उपाधि हासिल गरेको पुष्टि भएको थियो । ती व्यक्ति नेपाल सरकारकै कर्मचारी भएको पुष्टि भएको थियो । उहाँ एमफिलपछि पिएचडी अध्ययनको तयारीमा लाग्नुभएको थियो । सरकारी कर्मचारी भएका कारण केन्द्रले ती व्यक्तिको नाम भने गोप्य राखेको छ । 

सम्बन्धित क्याम्पसमा उपस्थित भएर अध्ययन गर्नुपर्ने अवधि पूरा नगरी समकक्षताका लागि निवेदन दिएका अन्य केही व्यक्तिमाथि पनि अध्ययन भइरहेको छ । यादवका अनुसार तोकिएको मापदण्ड अनुसार पिएचडी र एमफिल उपाधि लिएको विषयमा त्रिवि तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत थुप्रै उजुरी परेका छन् ।  कार्यकारी निर्देशक यादवले भन्नुभयो, “झुटो वा अधुरो कागजपत्र पेस गरेर समकक्षताको निवेदन दिएका थुप्रै उदाहरण छन् । यस विषयमा अख्तियारमा समेत उजुरी परेको रहेछ । उताबाट हामीलाई पनि पत्राचार भएको छ । एक दुई जनामाथि थप अध्ययन गर्दै छौँ ।” विदेशी विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले यी कागजपत्रका साथै भिसा लागेको पासपोर्ट, विदेशमा बसेको अवधिसहितको प्रमाण पनि पेस गर्नु पर्छ । “कुनै व्यक्तिले त विदेशमा जम्मा आठ दिन बसेर पनि पिएचडीको उपाधि लिएको बताउँदै समकक्षताको निवेदन दिनुभएको देखियो । यो त हदै भयो नि,” यादवले भन्नुभयो ।  

विद्यावारिधिमा मनलाग्दी भएपछि केन्द्रले विद्यावारिधि तहमा कक्षा कार्य (कोर्स वर्क) लाई अनिवार्य गरेको छ । यो व्यवस्था अनुसार विद्यावारिधिको समकक्षताका लागि निवेदन दिँदा आफू अध्ययनरत विश्वविद्यालयमा कक्षा कार्य तथा अन्य कार्य गर्न सम्बन्धित विश्वविद्यालयमा कम्तीमा नौ महिना रही अध्ययन गरेको पुष्टि गर्नुपर्ने छ । 

यसरी पुष्टि गर्दा विद्यावारिधिमा भर्ना भएपछि आफू कार्यरत संस्थाबाट बिदामा बसेको पूर्वस्वीकृति, बिदा बसेको प्रमाण, अध्ययन अवधिभर विश्वविद्यालयमा भौतिक रूपमा उपस्थित भएको खुलाई विश्वविद्यालयले लेखिदिएको पत्रसमेत आवेदन साथ पेस गर्नुपर्ने हुन्छ । यो व्यवस्था भारतसहित विश्वका अन्य विश्वविद्यालयले समेत लागु गरेपछि नेपालमा पनि लागु गरिएको हो । 

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।