शालिग्राम नेपाल
चितवन, चैत ३० गते । काम नलाग्ने फोहोर मान्दै आएको मानव मुत्र आम्दानीको राम्रो स्रोत बन्छभन्दा पत्यार नलाग्न सक्छ । तर मानव मुत्रबाटै प्राकृतिक मल निर्माण गरेर राम्रो खेती गर्न सकिन्छ ।
२० वर्षभन्दा अगाडिदेखि चितवनमा मानव मुत्रको प्रयोग गरेर झार, घाँस, कागज कुहाएर मल निर्माण गरी खेती हुँदै आएको छ । यस्तै, नवीन उपायको ज्ञान आफूले मात्र होइन, विद्यार्थी माझ सिकाउँदै आउनु भएको छ चितवनको इच्छाकामना गाउँपालिका–३ का शिरेन्द्र पोखरेल ।
चितवनको पृथ्वी रागमार्ग अन्तर्गत चुमलिङटार घर भएका पोखरेलले २२ वर्ष अगाडिदेखि मानव मुत्र सङ्कलन गरेर प्राकृतिक मल निर्माण गर्दै आउनुभएको हो । सामुदायिक विद्यालयमा अध्यापन गर्दै आउनुभएका उहाँ अवकासपछि यसलाई अझ व्यापकता दिँदै आफूले मात्र होइन, अरूलाई समेत ज्ञान सिकाउँदै आउनुभएको छ ।

इच्छाकामना गाउँपालिकाको माझगाउँमा अध्यापन गर्नुभएका पोखरेलले अवकासपछि पर्याप्त समय दिएर मानवमुत्र सङ्कलन गरी मल निर्माण गर्न थाल्नुभएको थियो । उहाँले भन्नुभयो “सुरुवातमा आफैले मुत्र सङ्कलन गरेर त्यसको प्रयोगबाट झार, घाँस, कागज फालिएका कुहिने सामग्रीबाट मल निर्माण गरें । त्यो मल तरकारी खेतीमा प्रयोग गरें ।” तरकारीले राम्रो फल दिन थालेपछि यसलाई अझ व्यापकता दिन थालें, उहाँले भन्नुभयो ।
तत्कालीन माओवादीको गोरखामा भएको भेलामा जम्मा भएको मुत्र सङ्कलल गरेर मल निर्माण गर्ने कार्य सुरु गरेको उहाँको भनाइ छ । पछि विस्तारै आफ्नै घरमा सङ्कलन गर्ने र अरूलाई पनि सिकाउने काम गर्न थालेको उहाँले बताउनुभयो ।
मानव मुत्रलाई मलमा मात्र होइन, प्लास्टिकका बाेतल, प्लास्टिकका झोला तथा गुट्खा लगायतका फोहोर सामग्री सङ्कलन गरेर किसानले प्रयोग गर्न मिल्ने डोरी निर्माण गर्न थालेको उहाँले बताउनुभयो । यसरी निर्माण गरिएको डोरी आफूले प्रयोग गर्ने र बिक्रीसमेत गर्न सकिने उहाँको भनाइ छ ।
आफूले जानेको विषय देशको विभिन्न विद्यालयले सिकाउनका लागि बोलाउन थालेपछि भने आफूले सोचेजति खेती गर्न नभ्याएको उहाँले बताउनुभयो । पूर्वदेखि पश्चिमसम्मका सयौं विद्यालयमा गएर विद्यार्थीलाई सिकाउने काममा अहिले सक्रिय भएको छु । उहाँले भन्नुभयो, “यही मानव मुत्रबाट निर्माण गरिएको मलबाट ड्रागन फुड (सिउडी फल) लगाएको छु ।
थोरै सङ्ख्यामा लगाएको थिए । राम्रो भएपछि अहिले १५० बोट लगाएको छु । यो सङ्ख्या अझ वृद्धि गर्ने तयारीमा छु ।” आफैले समय दिन नसक्ने भएका सानो रूपमा खेती गर्दै आएको उहाँ बताउनुहुन्छ । तरकारी खेती गर्दा गर्दै जिल्ला बाहिर तालिम दिन हिड्न पर्ने भएको कारण समय दिन नसकेर यसलाई निरन्तरता दिन पाइन । “बेकारबाट आविस्कार” भन्ने अभियानमार्फत विद्यार्थीलाई सिकाउँदै गरेको पोखरेलले भन्नुभयो ।
खेर गएका सामग्री, प्लास्टिक, टायर, टिनको बट्टा लगायतबाट उहाँले विभिन्न सामग्री निर्माण गर्दै आउनुभएको छ । साना प्लास्टिकका टुक्रा जम्मा पारेर बोटलमा राख्ने र ती धेरै बाेटलबाट बस्ने मुढा निर्माण गर्ने गर्दै आउनुभएको छ । यस्तै तरिकाबाट कसरी फोहोरको व्यवस्थापन, आम्दानी तथा मानव मुत्रबाट मल निर्माण सम्बन्धी विद्यार्थीलाई तालिम दिँदै आएको उहाँले बताउनुभयो ।

गाउँघरमा नै फोहोरको व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश बालबालिकालाई दिन सकेमा त्यसको प्रयोग हुने भएकाले यसैमा लागेको छु, उहाँले भन्नुभयो, “यसरी विद्यार्थीलाई तालिम मात्र होइन, प्रयोगात्मक परीक्षामा समेत समावेश गरेर नम्बर दिने व्यवस्था विभिन्न विद्यालयले गर्दै आएको छ ।”
उहाँको कार्यलाई प्रोत्साहन गर्दै चितवनको इच्छाकामना गाउँपालिकाले स्थानीय पाठ्यक्रममा फोहोर व्यवस्थापनका उपायहरूमा पोखरेलले प्रयोग गर्दै आउनुभएको उपायलाई समेत समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सकारात्मक कार्यलाई पालिकाले प्रोत्साहन गर्ने बताउनुभयो ।
हामीले यस्ता रचनात्मक कार्यलाई सहयोग गरेका छौं, उहाँले भन्नुभयो, “आउँदा दिनमा अझ यसलाई प्रचार गरेर फोहोरलाई आफ्नै घरमा व्यवस्थापन गर्न सकिने कार्यको प्रचारमा लाग्ने छौं ।”
पोखरेल भन्नुभयो, “अब स्थानीय पाठ्यक्रममा मात्रै होइन, राष्ट्रिय पाठ्यक्रममा समावेश गर्न सकेमा फोहोर मैला व्यवस्थापन र आम्दानीका उपाय बारेमा विद्यार्थीले जानकारीसहित व्यवहारमा समेत प्रयोग गर्ने छन् ।”