शेरबहादुर राई
ओखलढुङ्गा, चैत ३० गते । जिल्लाको सिद्धिचरण नगरपालिकाले शैक्षिक सत्र सुरु हुनु अगावै भर्ना र शुल्क असुली गर्ने विद्यालयप्रति कडाइ गर्ने भएको छ ।
पछिल्लो समय केही विद्यालयले नियम विपरीत अग्रिम शुल्क उठाउने, स्वीकृतभन्दा बढी रकम लिने तथा फरक–फरक शीर्षकमा अतिरिक्त शुल्क असुल्ने गुनासो बढेपछि नगरपालिकाले निगरानी बढाएको हो ।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको परिपत्र अनुसार शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना गर्न नपाइने तथा भर्ना प्रक्रिया सम्पन्न भएपछि मात्रै स्वीकृत शीर्षक अनुसार शुल्क लिन पाइने स्पष्ट गरिएको छ ।
प्रचलित शिक्षा नियमावली, २०५९ र सम्बन्धित मन्त्रालयको निर्देशनलाई आधार मानेर यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत भिष्मराज भट्टराईका अनुसार केही विद्यालयले एउटै विद्यार्थीबाट पटक–पटक भर्ना शुल्क लिने, अग्रिम रकम उठाउने जस्ता कार्य गरेकाले यसलाई रोक्न निर्देशन जारी गरिएको हो ।
“नियम विपरीत शुल्क लिएको पाइएमा रकम फिर्ता गराइनेछ र सम्बन्धित विद्यालयमाथि कानुनी कारबाही अघि बढाइनेछ,” उहाँले भन्नुभयो । नगरपालिकाले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको संवैधानिक व्यवस्था कार्यान्वयन गर्न पनि विद्यालयहरूलाई सचेत गराएको छ ।
साथै, शिक्षक तथा कर्मचारीलाई समयमै जानकारी गराउन, शैक्षिक सत्र २०८३ का कार्यक्रमहरू सम्बन्धित निकायको मार्गदर्शन अनुसार सञ्चालन गर्न र आवश्यक कागजात समयमै पेश गर्न आग्रह गरिएको छ । नगरपालिकाले शिक्षा क्षेत्रमा देखिएका अनियमितता नियन्त्रण गर्न अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।