काठमाडौँ, असार १० गते । इजरायल‐ इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपालीहरुमध्ये दुई जना गणेशप्रसाद पोखरेल र सुमन गैरे आज नयाँ दिल्ली आइपुगेका छन् । भारत सरकारको सहयोगमा इरानस्थित भारतीय दूतावासद्वारा उनीहरूलाई उद्धार गरेर नयाँ दिल्ली ल्याइएको हो ।
इरानमा रहेका १६ जना नेपालीमध्ये पाँच जना जेलमा रहेकाले बाँकी ११ जनाको उद्धार गर्ने तयारी भएको थियो । सोही बमोजिम उनीहरू भारतले उद्धार उडान गरिरहेको इरानको मसाद सहरमा पुगेका थिए ।
भारतीय नागरिकसँगै त्यहाँ पुगेका ११ जना मध्ये ९ जनाको इरानी कानुन अनुसारको आवश्यक कागजात नभएका कारण उनीहरूले उडान अनुमति नपाएको जानकारी नयाँ दिल्लीस्थित नेपाली दूतबासले जनाएको छ ।
अन्य ९ जना स्वदेश फर्कन चाहने अन्य भारतीय नागरिकहरूसँगै मसादको एक होटेलमा सुरक्षित रहेका र उनीहरूलाई भारतीय नागरिकसँगै उद्धार गरिने इरानस्थित भारतीय दूताबासले जनाएको छ । इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका १६ जना नेपालीलाई पनि आफ्ना नागरिकको उद्धारका क्रममा ल्याइदिन परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भारत सरकार समक्ष आग्रह गर्नुभएको थियो ।
भारतले नेपालको आग्रहअनुसार नेपाली नागरिकको उद्धार गरिदिने तयारी सुरु गरेपछि मन्त्री डा राणाले भारतीय विदेश मन्त्री एश जयशंकरलाई हिजो धन्यवाद दिनुभएको थियो । मसादमा रहेका नेपाली र इरानी जेलमा रहेकाहरूको उद्धार गरी स्वदेश ल्याउनका लागि आवश्यक कागजातहरूको व्यवस्था गर्ने काम भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।