• १० असार २०८२, मङ्गलबार

हेटौँडाले ल्यायो दुई अर्ब ९० करोडको बजेट

blog

बजेट प्रस्तुत गर्नका लागि नगर प्रमुख मीनाकुमारी लामाले उपप्रमुख राजेश बानियाँलाई बजेट हस्तान्तरण गर्नुहुँदै। तस्बिरः अनिल पराजुली।

अनिल पराजुली

हेटौँडा, असार १० गते। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड तिन लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ। मङ्गलबार भएको उपमहानगरको १७ औँ नगर सभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष ०८२/८३ का लागि बजेटमा वृद्धि गरिएको बजेट प्रस्तुत गर्नुभएको हो। हेटौँडाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ४३ करोड ८० लाख रुपियाँ बजेट प्रस्तुत गरेको थियो।

आर्थिक वर्ष ०८२/८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार रुपियाँ, राजस्व बाँडफाँडबाट ९२ करोड १४ लाख ७० लाख ५५ हजार, प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपियाँ र सङ्घीय सरकारको अनुदानबाट एक अर्ब १९ करोड ५० लाख रुपियाँ बेहोरिने उल्लेख गरिएको छ। नगर विकास कोषबाट ऋण तीन करोड ६० लाख बेहोरिने उल्लेख छ।

उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान ऊर्जा, सडक बत्ती, जलस्रोत, भवन तथा आवास, सिँचाइलगायत नगर स्तरीय पूर्वाधारतर्फ ६८ करोड ३९ लाख ४१ हजार विनियोजन गरेको छ भने वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ३२ करोड २५ लाख ६२ हजार बजेट विनियोजन गरेको छ।

उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न आगामी आर्थिक वर्षको लागि चार करोड रुपियाँ, सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न एक करोड ५० लाख, चालु आवमा सम्झौता भई सञ्चालनमा रहेका भुक्तानी हुन बाँकी योजनाको दायित्व भुक्तानीका लागि ३० करोड, सङ्घीय सरकार र प्रदेश सरकारतर्फको समपूरक कोष योजनाका लागि पदमपोखरी मुख्य सडक विस्तार, बृहत् खानेपानी, चक्रपथ सडक लगायतका योजनाका लागि सात करोड रुपियाँ विनियोजन गरेको छ।

उपमहानगरपालिकाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट ४ करोड ६९ लाख सात हजार बजेट विनियोजन गरिएको छ। कृषि विकासतर्फ उन्नत वालाको बिउ र कृषि प्रवर्धनका लागि एक करोड ६२ लाख, मौसमी तथा बेमौसमी घाँस वितरण कार्यक्रम र पशु विकास विविध कार्यक्रमका लागि १ करोड ५० लाख, मेयरसँग स्वरोजगार कार्यक्रमका लागि उद्योग वाणिज्य तथा सहकारी तर्फ ९८ लाख ३६ हजार विनियोजन गरिएको छ। 

सुशासन तथा संस्थागत विकास अन्तर्गतका योजना तथा कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट ६३ करोड ५४ लाख ९० हजार, सामाजिक विकासका लागि १६ करोड ८३ लाख ५५ हजार, वन तथा वातावरण र विपद्का लागि ६ करोड २० लाख ५० हजार, शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५ करोड ५१ लाख, स्वास्थ्य क्षेत्रका योजनाका लागि २ करोड ७८ लाख, युवा तथा खेलकुदका लागि  दुई करोड ५५ लाख, नगरवासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारी कार्यक्रम अन्तर्गत तथा खानेपानीको न्यूनतम रकम भुक्तानीको लागि एक करोड ७५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।