• १७ साउन २०८२, शनिबार

धरानमा तिजको रमझम

blog

कार्यक्रममा सम्मानित हुँदै गोरखापत्रकर्मी निशा राई ।

निशा राई 

धरान, साउन १७ गते । हरितालिका तिज आउन महिना बाँकी रहँदै धरानमा तिजको रमझम सुरु भएको छ। पहिले गाउँघरमा विवाह गरी गएको दिदीबहिनीलाई माइतमा बोलाई दर खुवाउने प्रचलन रहे पनि आजभोलि गाउँघरदेखि सहर बजारसम्म तिजको स्वागतका लागि दर खाने, नाचगान गर्ने, मेहेन्दी लगाउनेजस्ता कार्यक्रम आयोजना हुन थालेको हो । 

उधोग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा धरान मनिहारी तथा उपहार व्यापार सङ्‌घद्वारा आयोजित मनिहारी तिज उत्सवको कार्यक्रम आयोजना गरेको थियो । नेपाली समाजमा महिलाहरूबिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्दै चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको धरान उपमहानगरपालिकाको उपप्रमुख आइन्द्रबिक्रम बेघाले बताउनुभयो ।

पछिल्लो समय महिलाहरू पनि आत्मनिर्भर भई व्यापार व्यवसाय गरी आर्थिक विकासको क्षेत्रमा अब्बल हुन थालेका छन् । महिलाहरूलाई रचनात्मक, सिर्जनात्मक हुँदै आर्थिक रूपमा सबल सक्षम हुन तिज पर्वले प्रेरणा दिने महिलाको बुझाइ छ । बहुभाषिक बहुसांस्कृतिक विविधतायुक्त सहर धरानमा सांस्कृतिक सद्भावलाई बाह्य तत्त्वले खलबल्याउन खोजे पनि यहाँको विशिष्टता भनेकै सद्भाव रहेको उहाँहरूको भनाइ छ । 

नेपाली समाजमा महिलाहरूबिच एकता र सांस्कृतिक सद्भाव, सहिष्णुता कायम गर्दै चाडपर्वहरूले महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दैआएको उहाँले बताउनुभयो । धरान बहुभाषिक बहुसांस्कृतिक विविधतायुक्त मिश्रण सहर भएकाले धरानमा सबै जाति धर्मको संस्कार, संस्कृतिलाई सम्मान गर्दै सबै जाती, धर्मका मानिसहरूले सरिक भई मनाउने गरेकाले धरान बहुजातीय सांस्कृतिक सहरको रूपमा स्थापित भएको  बेघाले बताउनुभयो ।

सुनसरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बिजय श्रेष्ठले एक व्यक्तिले कमाएर सबै परिवार बसेर खाने प्रवृत्ति भएकाले नेपाल आर्थिक उन्नतिमा पछाडि परेको बताउनुभयो। आर्थिक विकासको क्षेत्रमा महिला अघि बढेर व्यावसायिक गतिविधिमा अग्रसर नभएसम्म देशको अर्थतन्त्र सबल नहुने भन्नुभयो ।  कार्यक्रममा गोरखापत्रकर्मी निशा राईलाई सम्मान गरिएको छ । नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको पूर्वसन्ध्यामा आयोजित तिज उत्सव कार्यक्रमबिच राईलाई दुई हजार ५ सय रुपियाँसहित सम्मानपत्रले सम्मानित गरिएको छ । 

उत्सवमा नृत्य प्रतियोगिताका साथै मेहन्दी लगाउने प्रतियोगिता समेत भएको मनिहारी तथा उपहार व्यापार सङ्घका अध्यक्ष रामस्वरूप शर्माले बताउनुभयो ।तिजलाई हिन्दु महिलाहरू विशेषगरी विवाहित महिलाहरूले श्रीमानको दीर्घायूका लागि कठोर ब्रत बस्ने प्रचलन रहेको छ । अविवाहित युवतिहरुले पनि ब्रत बसी  नाचगान गर्ने गर्छन् ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म विवाहित महिलाहरूले श्रीमानका दीर्घायूका लागि कठार ब्रत बस्ने प्रचलन रहेको छ भने अविवाहिताहरुले पनि ब्रत बस्दै पूजा गर्दै नाचगान गर्ने गर्छन् । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन विषेश रूपमा मनाइने यो पर्वमा भगवान शिवको पूजा आरधना गरिनुका साथै ब्रत सुरु हुनु केही दिनअघिदेखि विभिन्न परिकारका खानाहरू बनाई मनोरञ्जन गर्ने गर्छन् । 

हिमालयपुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य अवस्था राम्रो होस् भन्ने उद्देश्यले कठोर रूपमा पहिलो पटक ब्रत राखेको धार्मिक विश्वासका साथ हिन्दु महिलाहरूले यो पर्व मनाउँदै आएका छन् । उत्सवमा महिला सञ्जालकी अध्यक्ष साबित्री ईवरामलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, धरान र इटहरीका व्यावसायिक महिलाहरूको सहभागिता थियो ।