नेपाली रङ्गमञ्चको मूल जरा नेपालको मौलिक लोकसंस्कृति, धार्मिक आस्थासँग जोडिएको छ । किराँत, नेवार, मगर, थारू जस्ता आदिवासी जातिहरूका देवता आराधना, संस्कार र चाडपर्वसँग सम्बन्धित लोकनाट्यले नेपाली भूमिमा नाटकीय संस्कृतिको बीजारोपण गरे । विशेषतः नेवार समुदायको ‘घेँतु’, ‘नवदुर्गा’, ‘देव नाच’, ‘स्वांग’ आदि नाट्य रूपले प्रदर्शनकला र कथावाचनको समृद्ध परम्परा देखाउँछन् । यिनलाई प्राचीन नेपाली लोकनाटकको रूप मान्न सकिन्छ । नेपाली भाषामा लिखित नाटकको इतिहास भने आधुनिककालदेखि सुरु हुन्छ । विसं १९५७ मा राजा प्रताप मल्लले काठमाडौँको हनुमानढोका दरबारमा संस्कृत नाटक मञ्चन गराएको उल्लेख छ । योभन्दा करिब दुई शताब्दीपछि मात्रै नेपाली भाषामा मौलिक नाटक लेखिएको देखिन्छ ।
बालकृष्ण समले विसं १९९७ मा लेखेको ‘मुटुको व्यथा,’ ‘मुकुन्द इन्दिरा,’ र ‘अन्धविश्वास’ जस्ता नाटकहरू नेपाली भाषामा सामाजिक चेतनासँग जोडिएको नाट्य रचना मानिन्छ । यसपछि विसं २०१०–२०३० को अवधिमा भीमनिधि तिवारी, लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमाल जस्ता साहित्यकारले नाटक लेखनमा महत्वपूर्ण योगदान दिनुभयो । यस समयसम्म पनि नाटक दरबारी, शास्त्रीय र पुस्तक केन्द्रित थिए । मञ्चन भने अझै सुरु हुन बाँकी थियो । नेपाली रङ्गमञ्चको सक्रिय मञ्चन इतिहास विसं २०२० को दशकदेखि सुरु भएको मानिन्छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना विसं २०१८ र राष्ट्रिय नाचघर स्थापना २०३० मा भएसँगै सरकारी रूपमा नाटक मञ्चनको थालनी भयो । यतिबेला विजय मल्ल, प्रचण्ड मल्ल, अशेष मल्ल, र हरिहर शर्मा जस्ता रङ्गकर्मीहरूले लेखन र मञ्चन दुवैमा सशक्त उपस्थिति देखाउनुभयो । यो समय सांस्कृतिक संरक्षण र विकासको अर्को महत्वपूर्ण चरण थियो । प्रज्ञा–प्रतिष्ठानले साहित्य, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने जिम्मेवारी समालेको थियो र रङ्गमञ्चसँग सम्बन्धित अनुसन्धान, दस्ताबेजीकरण र सांस्कृतिक कार्यक्रमलाई प्रवर्धन गर्ने क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको थियो तर दुवै संस्था नाचघर र प्रज्ञा–प्रतिष्ठानले नेपाली रङ्गमञ्चलाई राष्ट्रिय पहिचान दिने र संरक्षण गर्ने दायित्व बोक्दा पनि अझै दस्ताबेजीकरण, प्रविधि विकास र दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ । यी संस्थाहरूले सशक्त समन्वय र लगानी गरेमा नेपाली रङ्गमञ्चको इतिहास र समृद्ध परम्परा सुरक्षित गर्ने काम थप प्रभावकारी बन्ने छ ।
विसं २०५० पछिको दशकमा नयाँ पुस्ताका रङ्गकर्मी जस्तै सुनिल पोखरेल, अनुप बराल, नवराज बुढाथोकी, कृष्ण शाह यात्री, विजय विस्फोट, प्रकाश घिमिरे, पुस्कर गुरुङ आदि मञ्चनमा सक्रिय हुनुभयो । उहाँहरूले ‘थिएटर इन एजुकेसन’ का साथै नयाँ प्रविधिमा आधारित दृश्य–श्रव्य प्रयोग आदि समावेश गर्दै नाटकलाई अन्तर्राष्ट्रिय शैलीमा विकास गर्नुभयो । यही दशकदेखि नै नेपाली थिएटर राजधानीमा मात्रै सीमित नभएर पोखरा, धरान, विराटनगर, बुटवल, धनगढीलगायतका सहरमा पनि व्यक्तिगत पहल र सङ्घ संस्थामार्फत नाटक प्रर्दशन गर्ने हल स्थापना भइसकेका थिए । २०६०–२०७० को दशक नेपाली रङ्गमञ्चका लागि नयाँ जागरण र प्रयोगको कालखण्ड रह्यो । यस समयमा सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका मुद्दाहरूलाई केन्द्रमा राखेर नाटक लेखन, मञ्चन र संस्था निर्माणमा उल्लेखनीय वृद्धि भएको पाइन्छ । निशा शर्मा, राजन खतिवडा, विमल सुवेदी, सिर्जना सुब्बा, सरिता गिरी, पशुपति राई र घिमिरे युवराज, दयाहाङ राई, केदार श्रेष्ठ, आकाङ्क्षा कार्की जस्ता कलाकारले रङ्गमञ्चलाई नयाँ दिशा दिन उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो ।
समकालीन नेपाली रङ्गमञ्चको विकासमा मन्डला थिएटर, शिल्पी थिएटर, कौसी थिएटर र शैली थियटर जस्ता स्वतन्त्र नाट्य संस्थाहरूले अग्रणी भूमिका खेलेका छन् । यथार्थवादी, सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित नाटकहरूको नियमित मञ्चन गर्ने, रङ्गकर्मीलाई प्रशिक्षण, अन्तर्क्रिया र सिर्जनात्मक अभिव्यक्तिको मञ्च प्रदान गर्दै, नेपाली रङ्गकला नयाँ पुस्तालाई समाहित गर्दै, रङ्गकर्ममा विविधता र नवीनता भित्र्याउन यी संस्थाहरूले शास्त्रीय शैलीदेखि यथार्थवादी तथा प्रयोगवादी नाटकसम्म विविध प्रस्तुति दिएर नेपाली रङ्गमञ्चको व्यापक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् । २०६०–२०७० को दशकको यस योगदानले आजको समकालीन रङ्गमञ्चको आधार तयार पार्न ठुलो मद्दत पु¥याएको छ ।
नेपाली रङ्गमञ्चले हाम्रो सांस्कृतिक पहिचान र सामाजिक चेतनाको अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको कुरालाई नकार्न सकिँदैन । यद्यपि रङ्गमञ्चको इतिहास र विकासक्रम समृद्ध हुँदाहुँदै पनि यसको दस्ताबेजीकरण भने निकै अधुरो छ । यसको अवस्था समग्र रूपमा हेर्दा कमजोर, असङ्गठित र विखण्डित देखिन्छ । अधिकांश नाटकका स्क्रिप्ट, मञ्चनसम्बन्धी सामग्री, कलाकारको जीवनी र सन्दर्भ विवरणहरू व्यक्तिगत प्रयासमा सीमित छन् । रङ्गकर्मीले आफ्ना अनुभव, अभिलेख र मञ्चनका सामग्री घरमै राखेका छन् तर ती सामग्री न त व्यवस्थित छन्, न त लामो समयसम्म सुरक्षित रहने सुनिश्चितता छ । अर्कोतर्फ, संस्थागत तहमा पनि अपेक्षाकृत कम चासो देखिन्छ । राष्ट्रिय प्रज्ञा–प्रतिष्ठान, सांस्कृतिक विभाग वा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान जस्ता निकायले केही दस्ताबेजीकरणको पहल गरे तापनि तिनीहरू न त समग्र छन्, न त अद्यावधिक ।
संरचनागत योजना, डिजिटल अभिलेख बनाउने दीर्घकालीन सोच, अनुसन्धानकर्ता र सर्वसाधारणलाई खुला पहुँच दिने व्यवस्था अझै कमजोर छ । गैरसरकारी संस्थाहरू, रङ्गमञ्चसम्बन्धी समूह वा मञ्चहरूबाट पनि अभिलेखीकरण प्रयासहरू भएका छन् तर तिनमा स्रोतको अभाव, प्रविधिको सीमितता र नीति निर्माणको कमी झल्किन्छ । यसरी हेर्दा, नेपाली रङ्गमञ्चको धरोहर अहिले पनि व्यक्तिगत प्रयास र सम्झनामा मात्र सीमित हुँदा भविष्यमै यसको ऐतिहासिक महìव ओझेलमा पर्ने जोखिम रहन्छ । दस्ताबेजीकरणको मजबुत आधार नबनाइँदासम्म न त अघिल्ला पुस्ताको योगदानको मूल्याङ्कन गर्न सकिन्छ, न त नयाँ पुस्तालाई सशक्त आधार प्रदान गर्न । यी सबै कारणले गर्दा नेपाली रङ्गमञ्चको समृद्ध इतिहासलाई सुसंरक्षित रूपमा भविष्यका पुस्तालाई हस्तान्तरण गर्ने कार्य चुनौतीपूर्ण बनेको छ ।
नेपाली रङ्गमञ्चको समृद्ध परम्परा र इतिहासलाई दीर्घकालीन रूपमा सुरक्षित गर्न तथा दस्ताबेजीकरणलाई व्यवस्थित बनाउने दिशा स्पष्ट छ तर त्यसका लागि ठोस कदम चाल्न जरुरी छ । पहिलो र अत्यावश्यक कार्य भनेको रङ्गमञ्चसँग सम्बन्धित सम्पूर्ण अभिलेखको डिजिटल संरक्षण हो, जसमा पुराना नाटक स्क्रिप्ट, मञ्चनका तस्बिर तथा भिडियो, कलाकारको जीवनी, अन्तर्वार्ता, समीक्षात्मक लेख तथा समाचार सामग्रीहरू एकीकृत डिजिटल प्लेटफर्म वा सङ्ग्रहालयमा उपलब्ध गराउनु पर्छ । यस्तो अभिलेखनले मात्र होइन, शोध तथा अध्ययनमा समेत महत्वपूर्ण आधार तयार पार्ने छ ।
दोस्रो, विश्वविद्यालय र अनुसन्धान संस्थानले रङ्गमञ्चसम्बन्धी विषयमा पाठ्यक्रम निर्माण, अनुसन्धानवृत्ति तथा परियोजनात्मक कार्य अगाडि सार्नु पर्छ, जसले इतिहास, सामाजिक प्रभाव, मौलिकताको विकास र सांस्कृतिक आन्दोलनका रूपमा रङ्गमञ्चलाई नजिकबाट अध्ययन गर्न सघाउँछ । तेस्रो, मौलिक सिर्जनात्मकतामा योगदान दिने कलाकार, लेखक, निर्देशक तथा प्राविधिकलाई राज्यस्तरीय अनुदान, सम्मान तथा अवसर दिनु जरुरी छ । यसले सिर्जनात्मकता बढाउने मात्र होइन, रङ्गमञ्चलाई जीवित परम्पराका रूपमा सशक्त बनाउने छ । अन्ततः प्रविधिको सदुपयोग गरेर, विशेषतः डिजिटल मञ्चन, सामाजिक सञ्जाल, र अनलाइन कार्यक्रममार्फत, युवालाई रङ्गमञ्चप्रति आकर्षित गर्ने रणनीति निर्माण गर्नु पर्छ । यस्ता पहलहरूले नेपाली रङ्गमञ्चको भविष्य उज्यालो बनाउने छ र यसलाई केवल एक ‘विगत’ नभएर ‘वर्तमान’ र ‘भविष्य’ को सांस्कृतिक आधार पनि बनाउने छ ।
नेपाली रङ्गमञ्चमा पछिल्लो समय युवाको सक्रियता उल्लेखनीय देखिन्छ । उनीहरूले आफ्नै लगानी, समय, श्रम र सिर्जनात्मक ऊर्जाबाट विविध सामाजिक, सांस्कृतिक तथा समकालीन विषयहरूमा आधारित नाटकहरू मञ्चन गरिरहेका छन् । यस्ता प्रयासले रङ्गमञ्चलाई नयाँ जीवन दिएको छ र युवापुस्ताबिच रङ्गमञ्चप्रतिको आकर्षण पनि बढेको छ । दुःखको कुरा ती मञ्चन गरिएका नाटकको लिखित संरक्षण हुन सकेको छैन । प्रायः न त ती नाटक प्रकाशित हुन्छन्, न त समुचित रूपमा अभिलेख गरिन्छन् । यसैले कुन नाटक कसले लेख्यो ? कहिले र कहाँ मञ्चन भयो ? यस्ता आधारभूत प्रश्नहरूको उत्तर समयसँगै हराउँदै गएको देखिन्छ । न त दस्ताबेज राख्ने प्रविधिगत व्यवस्था छ, न त संस्थागत पहल । यदि यस्ता नाटकको लिखित अभिलेखन र संरक्षण नगरिएमा ती सिर्जना इतिहासमा स्थान पाउन नसकी केवल क्षणिक स्मृतिमा सीमित हुने छन् । यसले नेपाली रङ्गमञ्चको समग्र विकास र अध्ययनका लागि आवश्यक सामग्री गुमाउने जोखिम बढाउँछ । त्यसैले युवाले मञ्चन गर्ने नाटकहरूलाई पनि लिखित रूपमा संरक्षण गर्ने व्यवस्थापन आवश्यक छ, जसले भविष्यका लागि एउटा मूल्यवान् सांस्कृतिक सम्पदाको रूपमा काम गर्ने छ ।
आजको डिजिटल युगमा केही युवाले सामाजिक सञ्जालमा नाटक मञ्चनका फोटो वा साना क्लिपहरू पोस्ट गर्ने चलन बढेको छ, तर त्यो मात्रले सांस्कृतिक दस्ताबेजीकरण सम्भव हुँदैन । ती अभिव्यक्ति क्षणिक, व्यक्तिगत प्रमोसनका लागि सीमित छन् र वैज्ञानिक, विधिपूर्वक सङ्ग्रह वा संरक्षणका मापदण्डमा पुग्दैनन् । न त्यसमा मितिको विवरण, लेखन र निर्देशनको सटिक अभिलेख हुन्छ, न त अध्ययनयोग्य स्थायी स्वरूप । यस कारण रङ्गमञ्चको सुसंरचित संरक्षणका लागि सम्बन्धित निकायले दायित्व बोधसहित योजना, स्रोत र समन्वयमा आधारित दीर्घकालीन प्रयास गर्न अत्यावश्यक छ । मौलिक नाटक लेखनदेखि ऐतिहासिक मञ्चन, कलाकारको योगदानसम्मका अनेकौँ पक्ष अझै व्यवस्थित रूपमा अभिलेखन हुन सकेका छैनन् । यस्तो परिस्थितिमा रङ्गमञ्चको सम्पूर्ण परम्परा भविष्यमा हराउने खतरा निकै गम्भीर छ ।
अबको आवश्यकता भनेको रङ्गमञ्चको सम्पूर्ण सामग्रीलाई योजनाबद्ध तरिकाले सङ्कलन, वर्गीकरण, संरक्षण र प्रवर्धन गर्नु हो । यसका लागि सरकारी, गैरसरकारी, शैक्षिक संस्था, कलाकार समुदाय तथा सञ्चार माध्यम सबैको समन्वयात्मक प्रयास अपरिहार्य छ । साझा जिम्मेवारीका रूपमा लिइने यस्ता पहलले न केवल हाम्रो नाट्य परम्परालाई पुनर्जीवित गर्ने छन्, हाम्रो सांस्कृतिक पहिचानलाई पनि बलियो बनाउने छन् । यथोचित पहल गरियो भने नेपाली रङ्गमञ्च केवल एउटा स्मृति नभई भविष्यका पुस्ताहरूका लागि प्रेरणा र गर्वको अमूल्य सांस्कृतिक सम्पदा बन्न सक्ने छ । नेपाली रङ्गमञ्चको दस्ताबेजीकरण केवल एक सांस्कृतिक आवश्यकता होइन, यो हाम्रो इतिहास, पहिचान र सामूहिक स्मृतिको सुरक्षा हो । हामीले आज उचित कदम चाल्यौँ भने रङ्गमञ्च केवल विगतको गौरव नभई भविष्यको प्रेरणाको स्रोत बन्न सक्छ ।