राधा नेपाली
सन्धिखर्क, साउन १७ गते । अर्घाखाँचीमा १० करोड ७१ लाख २९२ रुपियाँको काठ बिक्री भएको छ । आर्थिक वर्ष २०८१–८२ मा सामुदायिक वनले ६ करोड ३९ लाख ५० हजार र निजी तथा आवादी वनले चार करोड ३१ लख रुपियाँकोे काठ बिक्री गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कार्यालयका अनुसार २०८१–८२ मा दुई लाख ४० हजार क्युफिट काठ उत्पादन भएकोमध्ये एक लाख १६ हजार क्युफिट काठ बिक्री भएको थियो । ६५४ चट्टा दाउरा उत्पादन भएकोमध्ये ३५१ चट्टा बिक्री भएको कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो ।
जिल्लाका ६ पालिकामा ३१ वटा समुदायिक वन रहेका छन् । काठ बिक्रीबाट जिल्लामा राम्रो आम्दानी हुनेगरेको डिभिजन वन कार्यालयले जनाएको छ । आम्दानीको ४० प्रतिशत रकम वन संरक्षण व्यवस्थापनमा छुट्याउने गरिएको खड्काले बताउनुभयो । बाँकी रकम स्थानीयदेखि केन्द्रसम्म कर बुझाउँदा खर्च हुने गरेको छ ।
जिल्लाको ७३ हजार २०८ हेक्टर क्षेत्रफलमा जंगल रहेको छ । जसमा ३४ हजार २४२ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ । वनको आम्दानीबाट सामुदायिक वनले भवन निर्माणदेखि सामुदायिक विकासमा खर्च हुने गरेको छ । खड्काले भन्नुभयो, “वन कार्यालयको कार्यक्रम अन्तर्गत वित्तीय प्रगति ९५.६७ र प्रशासनिकतर्फ ८५.५४ प्रगति भएको छ ।”
वन क्षेत्रमा आम्दानी हुने बोटबिरुवा रोपण गर्नुपर्ने कार्यालयले जोड दिएको छ । काठसँगै जडिबुटीहरुको पनि संकलन र प्रशोधनमा ध्यान दिनुपर्ने कार्यालयले जनाएको छ । वन संरक्षणसँगै बोटविरुवा रोपण र जंगललाई आगोलागीबाट जोगाउन अभियानहरु सञ्चालनको योजनाहरु बनाइएको खड्काले बताउनुयो ।