हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन १७ गते । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२, पुटाकका एक युवा तीन दिनदेखि बेपत्ता भएका छन् । घरबाट खुर्पानी बेच्न रानीपौवा, मुक्तिनाथ क्षेत्रमा जानुभएका ३२ वर्षीय ढावा छिरिङ गुरुङ साउन १४ गते बिहानदेखि बेपत्ता भएको परिवारका सदस्यले जनाएका छन् ।
केही समय शरीरमा चोट लागेपछि आराम गरी काममा फर्किनुभएका गुरुङ घरबाट निस्केपछि सम्पर्कविहीन भएको श्रीमती सुनिता गुरुङले बताउनुभयो । श्रीमती गुरुङले भन्नुभयो, ‘‘घरबाट निस्किएपछि अहिले फोन सम्पर्क हुँदैन, खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छु ।’’
बेपत्ता हुनुभएका गुरुङलाई साउन १५ गते जोमसोम बजारमा देखिएको र त्यहाँबाट ट्याक्सीमा छिमेकी म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा गएको बताइए पनि मोवाइल अफ रहेको श्रीमती गुरुङको भनाइ छ ।
निलो ज्याकेट, जिनस पाइन्ट, आर्मी जुत्ता घाँटीमा कालो माला लगाएको र अनुहारको बणक कालो, कपाल आर्मीको हुलिया हुने स्टाइल, पछाडि ढाडमा चोट लागेको अवस्थामा घाउ रहेकाले खोजीकार्यमा सहयोग गर्ने परिवारले अपिल गरेका छन् ।
बेपत्ता हुनुभएका गुरुङको घरमा श्रीमती र एक छोरा छन् । यता जिल्ला प्रहरी कार्यालय मुस्ताङले बेपत्ता गुरुङको खोजीकार्य भइरहेको जनाएको छ ।