• १७ साउन २०८२, शनिबार

परम्परागत शैलीमा प्रतिक्षालय निर्माण

blog

परम्परागत शैलीमा निर्माण भएको प्रतिक्षालय । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, साउन १७ गते । बेनीमा कलात्मक शैलीमा यात्रु प्रतिक्षालय (फल्चा) निर्माण गरिएको छ । सामाजिक जमघट र विश्रामस्थलका लागि सदरमुकाम बेनी बजारस्थित पुस्तकालय चोकमा परम्परागत शैलीमा प्रतिक्षालय (फल्चा) निर्माण गरिएको हो ।

भक्तपुरे इँट्टा र काठको प्रयोग गरेर परम्परागत नेवारी वास्तुकला शैलीमा निर्माण गरिएको प्रतिक्षालय (फल्चा) आकर्षक छ । चोकमा रहेको खाली ठाउँको सदुपयोग गर्दै बेनी नगरपालिकाले  निर्माण गरेको प्रतिक्षालयले बेनी बजार घुमफिरका लागि आएका सर्वसाधारण तथा पर्यटकलाई विश्राम गर्न सहज हुने विश्वास गरिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको १३ लाख रुपियाँ बजेटबाट प्रतिक्षालय निर्माण गरेको हो । प्रतिक्षालय निर्माण भएपछि बजारवासीको दैनिक आवागमन, विश्राम तथा सामाजिक जमघटका लागि सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । 

प्रतिक्षालय बनाउन करिब २० लाख रुपियाँ लागत लाग्ने अनुमान गरेका छौं बेनी नगरपालिका वडा ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले भन्नुभयो, ‘‘प्रतिक्षालय बनाउन गत आवमा वडाबाट विनियोजन भएको १३ लाख रुपियाँ खर्च भइसकेको छ । पूर्णता दिन अझै ६ देखि ७ लाख रुपियाँ आवश्यक पर्दछ । चालु आवमा बजेटको व्यवस्थापन गरेर पूर्णता दिने योजना छ । प्रतिक्षालयमा आँखीझ्याल लगायतका पूर्वाधार बनाउन बाँकी छ ।’’ 

प्रतिक्षालय बनेसँगै गाउँबाट बजार आएकाहरूका लागि विश्राम गर्न सहज हुने उहाँले बताउनुभयो ।