• १७ साउन २०८२, शनिबार

प्रदेश सरकार मिडिया क्षेत्रको विकासमा प्रतिवद्ध छः मुख्यमन्त्री आचार्य

blog

समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।

छविलाल पाण्डे 

बुटवल, साउन १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सञ्चार क्षेत्रलाई सकारात्मक धारणा निर्माणमा अगुवा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले ‘हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्नु जरुरी छ, सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले यो विषयमा संवेदनशील बन्न जरुरी छ ।’

लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।  मुख्यमन्त्री आचार्यले सरकार समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पार्नु भयो । उहाँले मिडिया संस्थाको संख्या वृद्धि भएको सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेको बताउनु भयो । 

मुख्यमन्त्री आचार्यका अनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय टेलिभिजन प्रशारक संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराजप्रसाद पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

लुम्बिनी उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको बताउनुभयो । 

उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग पुर्‍याउने गरी काम गर्नुपर्ने बताउनुभयो । चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले ‘एकीकृत आवाज र आशावादी दृष्टिकोणसहित निजी क्षेत्रको समृद्धिका लागि सञ्चारको सहयोग अपरिहार्य’ रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीको नेतृत्वमा रहेको कार्यसमितिले नवनिर्वाचित  गोपाल ज्ञवालीको अध्यक्षतामा रहेको कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो ।