• ११ असार २०८२, बुधबार

सिद्धिचरण नगरपालिकाको बजेट ७२ करोड ६५ लाख

blog

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको बजेट प्रस्तुत गरिँदै । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई

ओखलढुङ्गा, असार १० गते । ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि ७२ करोड ६५ लाख १३ हजार ९०० रुपियाँ बजेट सार्वजनिक गरेको छ । 

आर्थिक वर्ष २०८२-०८३ को लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न नगरपालिकाको १६औँ नगरसभामा उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । सशर्त अनुदान चालु तर्फ ३४ करोड ५९ लाख, पुँजीगततर्फ पाँच करोड ४५ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण ९७ लाख ९४ हजार, समपुरक अनुदान एक करोड र सशर्त अनुदान चालु ४४ लाख १८ हजार सशर्त अनुदान पुँजीगत ४२ लाख ९ हजार र बाँकी नपुग रकम आ.व.२०८१÷०८२ बाट बैङ्क मौज्दात अल्या दुई करोड २७ लाख ५१ हजार ५ सय रुपिया अनुमान गरिएको छ । 

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय दुई करोड, मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट  ५० लाख, राजश्व बाँडफाँड संघीय सरकार नौ करोड ६० लाख ९१ हजार ४०१, सवारी साधन कर बाँडफाँड प्रदेश सरकार ८५ लाख ५० हजार, संघीय सरकारबाट वित्तीय सामानीकरण अनुदान १० करोड ७० लाख, समपुरक अनुदान एक करोड एक लाख, विशेष अनुदान दुई करोड ८२ लाख रहेको छ ।

 नगरपालिकाले कृषि, पशुपञ्छी, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । कृषि उपजको ब्राण्डिङ र बजारीकरण गर्दै कृषिमार्फत समृद्धि हासिल गर्ने लक्ष अनुसारको नीति लिएको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । 

शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणजस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजना समेत रहेको प्रमुख खनालको भनाइ छ । नगरसभाका सदस्यले ऐतिहासिक क्षेत्र, शिक्षा, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रम प्रभावकारी गराउनु पर्ने र पर्यटकीय क्षेत्रको विकास लगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।