• १७ कात्तिक २०८२, सोमबार

रोजगारी नहुँदाको पीडा

blog

दर्जनौँ सपनाको उडान भरेर २०२३ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको फ्याकल्टी अफ एग्रिकल्चरमा अध्ययनरत विपिन जोशीलगायत विद्यार्थी इजरायल पुगे । उनीहरूमा त्यहाँको कृषि ज्ञान हासिल गरेर नेपालमा कृषि क्रान्ति गर्ने सपना थियो । भन्न त हामीले नेपाललाई कृषि, वनजङ्गल र जलको समृद्ध देश भन्छौँ तर त्यो समृद्धि हामीले हासिल गर्न सकेका छैनौँ । नेपालको ६४ प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहे पनि उनीहरूको उत्पादन आफैँलाई पुग्न सकेको छैन । राज्यको कृषिप्रधान नीति नहुनु, कमजोर सिँचाइ नीति, आधुनिक प्रविधि र अनुसन्धानको अभाव, बिउ, मल, कीटनाशक र माटो परीक्षणमा वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन नदिनु जस्ता कारणले नेपालमा कृषि क्षेत्रको विकास हुन नसकेको हो । किसानलाई प्रविधि प्रयोगका लागि तालिम र अनुदान उपलब्ध नगराउनु, कृषि ऋण र बिमा नीति प्रभावकारी रूपमा कार्यान्वयन नगर्नु, बजार पहुँच र मूल्य स्थिरताको सुनिश्चितता नगर्नु समस्याका रूपमा छन् । वास्तविक किसानको पहिचान गर्न नसक्नु र अनुदानको रकम शक्तिको भरमा अपचलन हुनु, कृषिमा सहकारी र निजी क्षेत्रको सहभागिता गराउन नसक्नु, पूर्वाधार विकास गर्न नसक्नु जस्ता कारणले पनि नेपालको कृषि क्षेत्र उभो लाग्न सकेको छैन ।

देशमा कृषि क्रान्ति गर्ने सपना बोकेर इजरायल पुगेका नेपाली युवाको आशा ७ अक्टोबर २०२३ मा भएको हमास आक्रमणमा परी लासमा परिणत भएर बाकसमा फर्कियो । तत्कालीन समयमा हमास आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए । ज्यान गुमाउनेमा कैलालीका नारायणप्रसाद न्यौपाने, बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट, धनुषाका आनन्द साह र सुनसरीस्थित बराहक्षेत्र नगरपालिका–११ मधुवनका राजेश कुमार स्वर्णकार रहेका छन् । यस्तै डोटीका राजन फुलारा, डोटीकै पदम थापा, सल्यानका प्रवेश भट्टराई, दार्चुलाका लोकेशसिंह धामी, कैलालीका आशिष चौधरीले पनि सोही आक्रमणमा प्राण त्यागे । विपिनको अवस्था अज्ञात थियो । गाजामा भएको हमलापछि हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिए पनि त्यसपछि उनको अवस्था अज्ञात थियो ।

पङ्क्तिकार सुरुदेखि नै विपिनको रिहाइका लागि प्रयत्नरत थियो । तत्कालीन नेपालस्थित इजरायलका लागि राजदूत र वर्तमान राजदूत शमुलिक अरिए बाससँग नियमित संवाद र सम्पर्कमा थिएँ । इजरायलमा हमास आक्रमण हुँदा नेपालमा एनपी साउद परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । उहाँसँगको समन्वयमा पनि हामीले विपिनको रिहाइका लागि काम गरिरहेका थियौँ । सात दिनभित्र त्यहाँ रहेका विद्यार्थीलाई नेपाल फिर्ता ल्याउन सरकारले २०२३ अक्टोबर १२ मा जहाज पठाएको थियो । २०२३ अक्टोबर १२ मा परराष्ट्रमन्त्री साउदसहित उद्धार गरिएका विद्यार्थी सवार जहाज बिहान ३ बजे काठमाडौँ अवतरण ग¥यो । त्यस क्रममा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती पनि विद्यार्थीको स्वागतार्थ विमानस्थल पुग्नुभएको थियो । विमान २६५ विद्यार्थी र केही नेपाली नागरिक गरी २७० जना ल्याएर राति ३ बजे विमानस्थल अवतरण गरेको थियो । त्यसको २० दिनपछि हमास आक्रमणमा ज्यान गुमाउने १० विद्यार्थीको शव नेपाल ल्याइएको थियो । त्यस जहाजमा आउनुभएका नेपाली विद्यार्थीले विपिन जीवितै हुन सक्ने र हमास नियन्त्रणमा रहनुभएको बताएका थिए । त्यही दिनबाट हामीले विपिनको खोजीका लागि पहल थालेका थियौँ । दुई वर्षसम्मको नेपाल सरकार र हाम्रो प्रयास व्यर्थ बन्न पुग्यो । हामीले उहाँको जीवित अनुहार देख्न सकेनौँ ।

नेपालको कूटनीतिक पहल पनि कमजोर रह्यो । नेपालले इजरायलसँग नभएर प्यालेस्टाइन र हमाससँग संवाद गर्नुपथ्र्यो । नेपालले उनीहरूको वास्ता नगरेको जस्तो देखिन्छ । नेपालले इजरायल पक्षलाई मात्र समातेको देखियो । एक वर्षसम्म प्रयास गर्दा पनि हाम्रो प्रयास सफल नभएपछि मैले दुवैका राजदूत हानान गोडर–गोल्डबर्गरसँग कुरा गरेँ । उहाँले अब कुरा अगाडि बढाउँदा जोर्डन, कतार, इजिप्टसँग संवाद गर्न भन्नुभयो । त्यसपछि उहाँको सल्लाहलाई हामीले अङ्गीकार ग¥यौँ । विपिनको आमासँगै बहिनीलाई इजरायल पठाउन सफल भयौँ । उहाँहरूले इजरायलका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेट्नुभयो । त्यहाँ आफ्नो कुरा राख्नु भयो । नेपाल आइसकेपछि राष्ट्रपति रामचन्द्र पौडेल, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग उहाँहरूको भेट गराइयो । त्यसपछि परराष्ट्र मन्त्रालयको आग्रहमा जोर्डन, इजिप्ट र कतारका राष्ट्र प्रमुखहरूलाई राष्ट्रपति कार्यालयबाट विपिनको अवस्था पत्ता लगाउन आग्रह गर्दै पत्र लेखियो । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलको सहयोग पनि ठुलो रहेको थियो ।

म विपिनको परिवारसँग जहिल्यै निकटतम संवादमा थिएँ । आफ्ना लागि त जोसुकै बाँच्ने गर्छन् । समाजको चिन्ता लिनु मानवीय धर्म हो भन्ने मेरो बुझाइ छ । मैले सुरुकै दिनबाट विपिनको खोजीका लागि काम गरिरहेको थिएँ । शव ल्याइसकेपछि पनि विपिनको आमाले मलाई धन्यवाद दिँदै भन्नुभयो, ‘बाबु अबुल तिमी नभइदिएको भए मेरो छोराको शव पनि नेपाल ल्याउन सकस हुन्थ्यो ।’ उहाँको त्यो शब्द म जीवनमा सायदै भुलौँला । अहिले पनि विपिनको मृत्युबारे विभिन्न अभिव्यक्ति आइरहेका छन् । उहाँको शवको प्रकृति हेर्दा र हमास अधिकारीले दिएको जानकारी अनुसार विपिनको निधन दुई वर्षअघि नै भइसकेको थियो । घाइते अवस्थामा बन्धक बनाइएकै समयमा उहाँको ज्यान गएको भए पनि शवको पहिचान हुन नसकेपछि बाहिर विभिन्न भ्रामक खबर आएको मेरो बुझाइ छ । ती खबरले र हमासको नियन्त्रणमा रहेका केही व्यक्ति जीवितै रहेकाले विपिन पनि सकुशल हुन सक्ने हाम्रो अपेक्षा थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको थियो । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ, जुन साँचो रिपोर्ट हो ।

मृत्यु पुष्टि भएपछि इजरायलले एक जना आर्मी अधिकृतलाई विपिनको शवसँग नेपाल पठाएको थियो । उहाँ पहिले पनि नेपाल आएकाले नेपालबारे जानकार हुनुहुन्थ्यो । विपिनको मृत्यु पुष्टि नहुनुअघि नेपालस्थित इजरायल दूतावास पनि जीवित फर्किनेमा आशावादी थियो । विपिनको शव नेपाल आउँदा राजदूत श्मुलिक मन पनि बिझायो । उहाँ शवसँगै कञ्चनपुरस्थित विपिनको निवासमा पुग्नुभयो । महाकाली नदी किनारमा ४ कात्तिकमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गर्नुभयो । सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण ग¥यो । अन्तिम संस्कारका क्रममा राजदूत श्मुलिक आरी बासले पनि विपिनको पार्थिव शरीरमा सम्मानस्वरूप इजरालको झन्डा ओढाइदिनुभयो । त्यस क्रममा इजराली राष्ट्रपतिको शोक सन्देश वाचन गरेर सुनाउनुभयो । यसरी आशा बोकेर इजरायल पुगेको विपिन सपनाको उडान महाकालीस्थित भुजेलाघाटको भँगालोमा खरानी बनेर अस्तायो ।

एक्लो छोरा विपिनको निधनसँगै आमा पद्‍मा र बुबा महानन्दको भविष्यको बैशाखी टुट्यो । आशाको दीप निभ्यो । दुई वर्षदेखि दाइको बाटो कुरिरहेकी बहिनी पुष्पाको माइती आँगन रित्तियो । कञ्चनपुरको एक साधारण परिवारले आफ्ना छोरामा आशाका असाधारण सपना देखेको थियो । ती सपना अब कहिल्यै पूरा नहुने गरी टुटेका छन् । विपिन गुमाउँदाको पीडा परिवारका सबै सदस्यको अनुहारमा कालो बादल बनेर रुमलिरहेको छ । यो विपिनसहित ११ विद्यार्थीले ज्यान गुमाएको एक दुःखद घटना मात्र होइन । यसबाट नेपालले थुप्रै पाठ सिक्नु पर्छ । उनीहरूको उद्धारको ढिलासुस्तीले विदेशमा कार्यरत नागरिकको सुरक्षाप्रति राज्यको कमजोर प्रस्तुति देखाएको छ । सरकारले विदेशमा रहेका नागरिकको वास्तविक तथ्याङ्क, बसोबास स्थान र आपत्कालीन सम्पर्क प्रणाली निरन्तर अद्यावधिक गर्नुपर्नेमा त्यो गर्न सकेको छैन । दूतावास र राजदूतावासहरूले ‘क्राइसिस–म्यानेजमेन्ट सेल’ सधैँ सक्रिय राख्नुपर्ने हुन्छ । नेपालको यो प्रणाली प्रभावकारी रूपमा सक्रिय छैन ।

नेपालको जिडिपीको ठुलो हिस्सा रेमिट्यान्समा निर्भर छ । इजरायलजस्ता मुलुकमा द्वन्द्व वा सङ्कट आउँदा त्यसको सिधा असर नेपालको अर्थतन्त्रमा पर्छ । हामी सधैँ परनिर्भर भएर मात्रै पनि हुँदैन । दीर्घकालीन समाधानका लागि देशभित्र रोजगारीका अवसर सिर्जना गर्नु पर्छ । कृषि, पर्यटन र उद्यमशीलता क्षेत्रमा लगानी बढाउन सके युवालाई विदेश जानु नपर्ने अवस्था सिर्जना हुन्छ । शिक्षित युवालाई देशभित्रै उत्पादनमुखी काममा आकर्षित गर्ने नीति ल्याउनु पर्छ । ‘विदेशमा होइन, देशभित्रै अवसर’ भन्ने अवधारणालाई व्यवहारमा रूपान्तरण गर्नु पर्छ । कुनै नागरिक रोजगारीका लागि विदेश गएमा नेपालीको सुरक्षा, रोजगार सम्झौता र अन्तर्राष्ट्रिय सहायता राजनीतिक स्थिरतामा निर्भर हुन्छन् । नेपालले सबै मुलुकसँग सन्तुलित र सक्रिय कूटनीतिक सम्बन्ध विस्तार गर्नु पर्छ । सङ्कटका बेला राजदूतावास समन्वयकारी केन्द्रका रूपमा तत्काल सक्रिय हुनु पर्छ । आगामी दिनमा नेपालले यस्तो नियति भोग्न नपरोस् ।