• १७ कात्तिक २०८२, सोमबार

छिमेकीले अपहरण गरी शर्माको हत्या गरेको पुष्टि

blog

प्रमाण नष्ट गर्न जलाइएको शर्माको कार ।

बिष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १६ गते । झापाको शिवसताक्षी –१० माइधारका ३३ बर्षिय सरोज शर्माको आफ्नै छिमेकीहरु मिलेर अपहरणपछि हत्या गरेको रहस्य खुलेको छ । 

गत आइतबार ‘कार धुने’ भन्दै घरबाट निस्किएका सरोज केहीबेरपछि नै सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरेको थियो । बा १–०३०–च ७१९४ नम्बरको कारमा निस्किएका शर्मा बेपत्ता भएको खबर प्रहरीलाई पनि तत्काल पुगेको थियो । 

नजिकै सुरुङ्गा बजारमा अन्तिम मोबाइलको लोकेशन रहेको र त्यससपछि केही पत्ता नलागेपछि घटना रहस्यमय भएको ठानिएको थियो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा शर्माको छिमेकी माइधारकै सुनिल साहको समूहले अपहरण गरेर हत्या गरेको खुलेको छ । २ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रकुमार खड्काका अनुसार प्रहरीले शंकास्पद ब्याक्तिलाई निगरानीमा राखेर अनुसन्धान सुरु गर्नेक्रममा २ जना छिमेकीलाई पक्राउ गरेपछि हत्याबारे खुलेको हो । 

अपहरण गरेको दिन नै हथौडाले टाउकोमा हिर्काएर हत्या गरेको पक्राउ परेका शाहले बयान दिएको अनुसन्धानबाट खुलेको खड्काले बताउनुभयो । सस्तोमा सुन पाएमा काठमडौमा बेच्न सकिने भनेर शर्माले एक महिना अघिदेखि भनेपछि शाहले सस्तोमा सुन उपलब्ध गराउने भन्दै पैसा असुली गर्दैआएको खुलेको प्रहरीको भनाइ छ ।

सस्तोमा सुन उपलब्ध भएको भन्दै शाहले शर्मालाई अर्जुनधारा नगरपालिका –४  दहिझोडा सामुदायिक वनमा शर्मालाई बोलाएको घटनाको एक सातापछि आइतवार पत्रकार सम्मेलन गर्दै खड्काले जानकारी दिनुभयो । अपहरण तथा शरीर बन्धक बनाएर छिमेकीमूलक भारत लगेर परिवारसँग करोडौ रुपियाँ माग गर्ने योजना बुनेको देखिएको खड्काले बताउनुभयो ।

नाताले भान्जा पर्ने ब्यक्तिसहित यस घटनामा ३ जनाको संलग्नता रहेको खड्काले बताउनुभयो । हत्या गरेपछि सोही रात झापा गाउँपालिका हुलाकी राजमार्गको विरिङ पुलमुनि शव गाडेका थिए । शव गाड्न लैजान मृतकको शाहको नै सवारी साधन प्रयोग भएको प्रहरीको भनाइ छ ।

हत्यापछि हत्या भएका शर्माको सवारी साधन ब्यवस्थापन गर्न उनीहरुलाई समस्या भएपछि त्यसलाई जलाएर नष्ट गर्ने योजना बनाएर सोहीअनुसार हत्या भएको ४ दिनपछि चारआली जंगलनजिकको हातेमालो सामुदायिक वनभित्र लगेर गाडी जलाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । 

पक्राउ पर्नेमा मुख्य योजनाकार २५ वर्षीय सुनिल साह र २६ वर्षीय राहुल साह रहेका छन् । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

घटनाको सम्पूर्ण योजनकार तथा मूख्य अभियुक्त शाहलाई प्रदेश प्रहरी कार्यालयको विशेष ब्यूरोले बिराटनगरको रानीबाट पक्राउ गरेको जानकारी गराईएको छ । अपहरणपछि हत्या गर्ने मुख्य योजनाकार उनै रहेका थिए । पक्राउ परेकालाई प्रहरीले अपहरण, शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।

शर्मा काठमाडौँस्थित एक आइटी कम्पनीमा कार्यरत रहेको परिवारले जनाएको छ । तिहार र छठ मनाउन घर आएर फर्किने तयारीमा रहदैगर्दा अपहरणपछि हत्या भएको शर्माका आफन्तहरुले जनाएका छन् । घटनाको सत्यतथ्य बाहिर ल्याएर सबै दोषीलाई पक्राउ गर्न प्रहरीले स्थानीयले दबाब दिँदैआएका छन् ।