काठमाडौ, असार १० गते । सुरक्षासम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूह [आईएनबिसिजिएसआई] को सोह्रौँ बैठक असार ९–१० गते भारतको पुणेमा सम्पन्न भएको छ ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका अतिरिक्त सचिव [उत्तर] मुनु महावरले गर्नुभएको थियो भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव [दक्षिण एसिया] गेहेन्द्र राजभण्डारीले गर्नुभएको थियो ।
प्रतिनिधिमण्डलमा सम्बन्धित परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकारीहरूका साथै भारतीय सेना र नेपाली सेनाका निर्देशनालयका पदाधिकारीहरू सहभागी रहनुभएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयहरू उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् राहत कार्य र सैन्य आदानप्रदानबारे फलदायी छलफल गरेका थिय । यसका साथै प्रतिनिधिमण्डलले पारस्परिक रूपमा लाभदायक सहकार्यका सम्भावनाहरू खोज्न प्रमुख सार्वजनिक र निजी रक्षा क्षेत्रका उत्पादन स्थलहरूको पनि भ्रमण गरेको थियो ।
सन् २००३ मा स्थापित आईएनबिसिजिएसआई भारत र नेपालबीच द्विपक्षीय रक्षा र सुरक्षा सहकार्यलाई समन्वय गर्ने एक छाता संस्थागत संयन्त्र हो ।