हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असार ११ गते । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ‘जिओलोजिकल पार्क’ बनाउने भएको छ । कलात्मक पहाड रहेको वडा नं २ घमीस्थित ढाक्मरको पहाडमा विभिन्न कलात्मक आकृतिहरू बनाइने छ ।
रातो, खस्रो पहाडलाई सुहाउँदो भित्ताहरुमा कलात्मक आकृतिसहित आसपासका क्षेत्रमा रहेका प्राचिन गुफाहरूको संरक्षण गर्ने गरी पार्क बनाउन लागिएको हो । गाउँपालिकाले मङ्गलबार सम्पन्न गरेको २० औं गाउँसभामा अध्यक्ष लोप्साङ छोम्पेल विष्टले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा रातो पहाड भएको ढाक्मर क्षेत्रमा भूगर्भीय अध्ययनका साथै अनौठो स्थानमा पुगेको अनुभूती हुने गरी ‘जिओलोजिकल पार्क’ बनाउन ४३ लाख बजेट विनियोजन गरिएको छ । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ ।
गाउँसभाले गाउँपालिकाले ८ औं शताब्दीको लोघेकर गुम्बालाई ऐतिहासिक, सांस्कृतिक एवम् प्रचिन पर्यटकीयस्थलको रुपमा प्रचारप्रसार गर्ने भएको छ । यो गुम्बा तिब्बतमा निर्मित विश्वकै पहिलो साम्यभन्दा पूरानो गुम्बा दाबी गरिएको छ ।
गाउँपालिका अध्यक्ष विष्टले भन्नुभयो, ‘‘जिओलोजिकल पार्कबाट विश्वको ध्यान तान्छौं, यस क्षेत्रमा रहेको सम्भावनलाई पार्कले उजागर गर्ने छ ।’’ अध्यक्ष विष्टका अनुसार पार्क बनाउने स्थानमा रहेको रातो पहाड आसपासका क्षेत्रमा विभिन्न रङका दृष्यहरुको अवलोकन गर्न पाइन्छ ।
गाउँपालिकाले प्राचिन सभ्यता झल्किने धार्मिक तथा पर्यटकीयस्थलसँगै स्थानीयको आयआर्जनसँग जोडिएका कृषि क्षेत्रको विस्तारका लागि स्याउ खेती, कृषि उन्त्रउपकरणको वितरण, शिक्षा, स्वास्थ्य, पूर्वाधारको क्षेत्रमा समेत बजेटलाई प्राथमिकता दिएको छ ।
गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरूङले आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ करोड, ५८ लाख ९१ हजार दुई सय ६७ रूपिँयाको बजेट प्रस्तुत गर्नुभएको थियो । कुल बजेटको ५३ प्रतिशत पुँजिगत तथा ४३ प्रतिशत चालुतर्फ रहेको प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिनुभयो । गाउँसभाले लेखा अधिकृत उज्वल चपाईलाई र प्रशासकीय अधिकृत शोभा पुनलाई सम्मान समेत गरेको छ ।