• ११ असार २०८२, बुधबार

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट १४ जना पुरस्कृत

blog

पुरस्कृत किसानका साथमा राष्ट्रपति रामचन्द्र पौडेल, कृषि मन्त्री रामनाथ अधिकारीलगायत । तस्बिर : कृषि मन्त्रीको सचिवालय

काठमाडौँ, असार १० गते । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ  । कृषि तथा पशुपक्षी विकास मनत्रालयद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो ।   

पुरस्कृत हुने कृषकहरूमा कोशी प्रदेशवाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म) मधेस प्रदेशवाट भरतकुमार यादव (शम्भुनाथ माछा फर्म) र हीराबहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) बाग्मती प्रदेशवाट चेतप्रसाद ढकाल  (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रिनलाईन एग्रो प्राली) गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपक्षी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म) , लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाद्यन्न वाली) र सुवास कुर्मी (शान्ति उन्नत  पशुपालन तथा माछा फर्म) छ्न् ।त्यस्तै, कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती)  र भरतनाथ योगी (सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपक्षी तथा कृषि फर्म) र लोकबहादुर थापा  (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न् । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपियाँ प्रदान गरिएको छ ।

युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ : राष्ट्रपति पौडेल

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्नुभयो । 


उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बिउबिजन र मलको आपूर्ति, नवीनतम औजार, उपकरण यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बिमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’’ 

उहाँले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरूपमा समृद्ध नेपालको निर्माण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने बताउनुभयो ।   

राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिविम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेसाको रूपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताउनुभयो । 

उहाँले भन्नुभयो–‘शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेसा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नविनतम प्रविधि भित्रिएको छ । कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दुग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मिहिनेत र लगनको कारण हो ।’ 

उहाँले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति भएको भन्दै मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताउनुभयो ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले आजको दिन हामी सबैका लागि गर्व र प्रेरणाको दिन भएको बताउनुभयो । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रूपमा छानिएर आउनुभएका १४ जना कृषकहरूलाई उहाँहरुले कृषि क्षेत्रमा पुर्‍याउनु भएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो । 

मन्त्री अधिकारीले भन्नुभयो , हाम्रा किसानहरूले माटोमा बगाएको पसिनाले नै हाम्रो भान्छा भरिएको छ, हाम्रो अर्थतन्त्रलाई टेवा पुगेको छ र सिंगो राष्ट्रले खाद्य सुरक्षाको अनुभूति गर्न पाएको छ। 

प्रकृतिका चुनौतीहरूका बिच पनि  कृषकहरुले कृषि क्षेत्रमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ। उहाँहरूको अथक परिश्रम, धैर्यता र लगनशीलताको आज हामीले कदर गरेका छौँ मन्त्री अधिकारीले ,भन्नुभयो । उत्कृष्ट कृषक पुरस्कारले कृषि पेसालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको उल्लेख गर्दे मन्त्री अधिकारीले  यो सफलताले विशेष गरी युवा, महिला र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले कृषि पेसाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याइरहेको छ भन्नुभयो । 

पुरस्कृत भएका जस्तै हजारौ सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण मार्गनिर्देशन दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो । तपाईंहरूको सफलताले समाजमा कृषि पेसाप्रतिको दृष्टिकोण परिवर्तन गर्ने छ, र कृषि पेसालाई सम्मानित, सम्भावनायुक्त र भविष्यदृष्टि भएको पेसाको रूपमा स्थापित गर्ने छ भन्ने विश्वास लिएको छु ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नीति, योजना र कार्यक्रममार्फत किसानमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी र समावेशी बनाउने प्रतिबद्धतासमेत मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । 

कृषि क्षेत्रमा प्रविधिको प्रयोग, नवप्रवर्तन र युवा सहभागितालाई प्रोत्साहन गर्दै कृषि व्यवसायलाई देशको समृद्धिको आधार बनाउने हाम्रो साझा लक्ष्य रहेको र यसलाई वनाउन सवैको हातेमालो आवश्यक छ मन्त्री अधिकारीले भन्नुभयो ।