राधा लुइटेल
फिदिम, साउन १७ गते। पाँचथरको फाल्गुनन्द-१ र फिदिम-६ को सङ्गम स्थलमा रहेको तिजोक क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
एकान्त, शान्त र मनोरम वातावरण रहेको तिजोकमा पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न थालेसँगै यो क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन थालेको हो।
तिजोकलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तिजोक पर्यटन प्रवर्धन विकास क्षेत्रले काम गरिरहेको छ। पछिल्लो एक वर्षमा यहाँ आन्तरिक र वाह्य पर्यटकको सुविधाका लागि भौतिक संरचना, मनोरञ्जनका साधन, बहु सांस्कृतिक पार्क निर्माण भएका छन्।
यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन फाल्गुनन्द गाउँपालिका-१ र फिदिम नगरपालिका-६ लाई देश विदेशमा रहेका नागरिकले आर्थिक सहयोग गरेका छन्।
यसैगरी भौतिक पूर्वाधार निर्माणका लागि स्थानीयले उल्लेख्य मात्रामा श्रमदान गरेको तिजोक पर्यटन प्रवर्धन विकास क्षेत्रका अध्यक्ष राज दिलाञ्जलीले बताउनुभयो।
फिदिम ६ सिवा र फाल्गुनन्द १ र २ को सङ्गम स्थल पात्लेभन्ज्याङ, फाल्गुनन्द १ को नवमीडाँडा बजार र सुर्केनागीको मिलडाँडा गरेर ३ स्थानबाट तिजोकडाँडामा मोटरबाटो पुर्याइएको छ।
समुद्री सतहदेखि दुई हजार एक सय ४३ मिटरको उचाइमा रहेको प्राकृतिक र भौगोलिक रूपमा सुन्दर पर्यटकीय तथा ऐतिहासिक स्थल तिजोक डाँडाबाट पूर्वी नेपालको पाँचथर, तेह्रथुम, ताप्लेजुङ सम्मका रमणीय स्थान र हिमश्रृङ्खलाहरूको दृष्यावलोकन गर्न सकिन्छ।
तिजोकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागि स्थानीय सरकार तथा वडा कार्यालय पनि सहयोग भइरहेको फाल्गुनन्द १ का वडाध्यक्ष होमप्रसाद आङ्देम्बे बताउनुहुन्छ।