बोमलाल गिरी
नवलपुर, साउन १७ गते । चार दिनअघि नारायणी नदी पुलबाट हाम फालेर बेपत्ता भएका गैडाकोट–२, कुसुमघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठको शव फेला परेको छ ।
गैडाकोट नगरपालिका–७, गैरीस्थित नारायणी नदी किनारमा श्रेष्ठको आज शव भेटिएको नवलपुर प्रहरीले जनाएको छ । उहाँको शव भरतपुरस्थित सरकारी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
किशोरले साइकल र चप्पल नारायणी पुलमा छाडेर नदीमा हाम फाल्नुभएको थियो । उहाँ कक्षा ९ मा अध्ययनरत हुनुहुन्थ्यो । उहाँका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
सोही दिन राति नारायणी नदीमा नारायणी पुलबाट हाम फालेर बेपत्ता भएका नुवाकोट जिल्लाको साविक हलदेब गाविस–१ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी भने अझै फेला पर्नुभएको छैन । त्यसैगरी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-७, त्रिवेणी ब्यारेज पुलमा एक जना अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ब्यारेज पुलको ३२ नम्बर ढोकामा पुरुषको शव फेला परेको हो।