फडिन्द्र अधिकारी
लेखनाथ, साउन १७ गते । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय योजनाबद्ध रूपमा जनताको चाहनाअनुसार अगाडि बढिरहेको बताउनुभएको छ ।
लिकबाट बाहिर गएको अर्थतन्त्र र शासन प्रणालीलाई सरकारले व्यवस्थित बनाएको चर्चा गर्नुहुँदै उहाँले जनताको अपेक्षाअनुरूप परिणाम दिनेगरी काम भइरहेको उल्लेख गर्नुभयो ।
सत्तारुढ दल नेकपा (एमाले) का उपमहासचिव समेत रहनुभएका गुरुङले पार्टी निर्माणका लागि अघिल्लो कार्यकालमा ल्याइएको दुई कार्यकाल अध्यक्षको सीमालाई परिमार्जन गर्न लागिएको बताउनुभयो ।
“समृद्धि र विकास एमालेकै नेतृत्वमा सम्भव छ” उहाँले भन्नुभयो, “मुलुकको आवश्यकताअनुसार पार्टीको नेतृत्व क्षमता अझै उचाइमा पुर्याउन विधान संशोधन प्रस्ताव आएको छ ।” पोखरामा शनिबार सुरु भएको नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चाैथो पूर्ण बैठकमा उहाँले यस्तो भनाइ राख्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले २०८४ सालमा एकल बहुमतको सरकार बनाउने लक्ष्यसहित विधान संशोधन प्रस्ताव ल्याइएको बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई सफल बनाउन संशोधन प्रस्ताव अपरिहार्य भएको तर्क गर्नुभयो ।
“देशको आवश्यकताले गर्नैपर्ने काम एमालेले गर्न लागेको हो” उहाँले थप्नुभयो, “अब पार्टीलाई बहुमत दिलाउने गरी नेता, कार्यकर्ता सक्रियतासाथ लाग्न जरुरी छ ।”
एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले शक्तिशाली पार्टी प्रभावशाली नेतृत्वबाट सम्भव हुने भएकाले एकताबद्ध भएर जनता कहाँ पुग्न आग्रह गर्नुभयो । एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीमा दक्षिणपन्थी अवसरवाद र अनुशासनहिनता हाबी हुने वातावरण बनाउन नहुनेमा जोड दिनुभयो ।
एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले बैठकमा प्रदेशमा भएका सङ्गठनात्मक कार्य, आगामी रणनीति तथा अभियानबारे छलफल भएको बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव तथा प्रचार विभाग प्रमुख मञ्जु अधिकारी, उपसचिव दामबहादुर विक लगायतले बोल्नुभएको थियो । शनिबार सुरु भएको बैठक आइतबारसम्म चल्ने छ ।