• ११ असार २०८२, बुधबार

वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर

blog

वैदेशिक सहायता परिचालन 

१. वैदेशिक सहायता परिचालनमा अन्तरतह स्वामित्व र समन्वयलाई सुदृढ बनाई सहायताको दक्षतापूर्वक उपयोग गर्न वैदेशिक सहायता परिचालन नीति, २०८२ ले गरेको प्रक्रियागत व्यवस्था उल्लेख गर्नुहोस् । साथै वैदेशिक सहायताका परिचालनमा प्रदेश र स्थानीय तहले निर्वाह गर्ने भूमिकासमेत उल्लेख गर्नुहोस् ।

वैदेशिक सहायता परिचालनः नेपालको विकासमा योगदान भन्ने दूरदृष्टिसहित वैदेशिक सहायता परिचालन नीति, २०८२ जारी भएको छ । यस नीतिले वैदेशिक सहायता परिचालनमा देखापरेका पछिल्ला प्रवृत्तिलाई सम्बोधन गर्ने प्रयास गरेको छ । नेपालको संघीय शासन प्रणालीमा वैदेशिक सहायता परिचालन गर्दा देहायबमोजिम गर्ने भनी नीतिमा उल्लेख गरिएको छ ।

अनुदान सहायता, नेपाल सरकारको दायित्व अन्तर्गतको ऋण सहायता र प्राविधिक सहायताका हकमा अर्थ मन्त्रालयले वित्तीय सम्झौता गरी कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहमा पठाउने,

प्रदेश र स्थानीय तहको अनुरोधमा परिचालन हुने ऋणको सम्झौता गर्दा नेपाल सरकारले सम्बन्धित स्थानीय तहसँग सहायक ऋण सम्झौता गरी बजेटमार्फत कार्यान्वयनका लागि पठाउने र आवश्यकता अनुसार एस्क्रो एकाउन्टमार्फत ऋणको साँवा ब्याज भुक्तानीको व्यवस्था गर्न सक्ने,

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा परिचालन गरिने ऋणबाहेक सम्भाव्यताका आधारमा प्रदेश र स्थानीय तहमार्फत अन्य आयोजना वा कार्यक्रममा ऋण सहायता परिचालन गर्दा सम्बन्धित तहसँग सहायक ऋण सम्झौतामार्फत परिचालन गर्ने,

बजेट प्रणालीमार्फत परिचालन हुने अनुदान सहायताको रकम ससर्त अनुदानको रूपमा प्रदेश तथा स्थानीय तहमा पठाउने,

सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुने विकास आयोजना वा कार्यक्रमका लागि सहलगानीबापत आवश्यक पर्ने रकम सम्बन्धित तहले बेहोर्ने,

प्रदेश तथा स्थानीय तहले सिफारिस गरेका आयोजनाको वित्तीय स्रोत जुटाउन विकास साझेदारसँग गरिने वार्ता तथा सम्झौतामा सम्बन्धित तहको प्रतिनिधित्व गराउने ।


क) वैदेशिक सहायता परिचालनमा प्रदेश सरकारको भूमिका 

आफ्नो प्रदेशअन्तर्गत वैदेशिक सहायता आवश्यक पर्ने सम्भावित आयोजना पहिचान गरी एकीकृत आयोजना सूची तयार गर्ने,

प्रदेश अन्तर्गत परिचालन हुन सक्ने वैदेशिक सहायताको सम्भाव्य आयोजना अघि बढाउन नेपाल सरकारको सम्बन्धित विषयगत मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने,

नेपाल सरकारका विषयगत मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयको सहमति लिई वस्तुगत सहायता लिने,

प्रदेश सरकारले प्रस्ताव गरेको आयोजना कार्यान्वयन गर्नको लागि विकास साझेदारसँग हुने वार्तामा प्रदेश सरकारको तर्फबाट प्रतिनिधि मनोनयन गरी वार्ताका लागि अख्तियारी दिने,

प्रदेशको मागबमोजिम वैदेशिक ऋणमार्फत परिचालन भएको सहायताको हकमा सहायक ऋण सम्झौता अनुरूप ऋणको साँवा ब्याज भुक्तानी गर्ने,

वैदेशिक सहातयताका कार्यक्रम वा आयोजना कार्यान्वयन गर्ने गराउने तथा सहजीकरण गर्ने,

सम्बन्धित आयोजना सम्झौतामा उल्लेख भएका सर्तका अधीनमा रही खर्च तथा लेखाङ्कन र प्रतिवेदन गर्ने, शोधभर्नाका लागि आवश्यक पर्ने सम्पूर्ण विविरण समयमै नियमित रूपमा आयोजना व्यवस्थापन कार्यालय र एकाइलाई उपलब्ध गराउने,

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट प्रदेश अन्तर्गतका एकभन्दा बढी स्थानीय तहमा सञ्चालित कार्यक्रमको समन्वय र अनुगमन गर्ने ।


ख) वैदेशिक सहायता परिचालनमा स्थानीय तहको भूमिका

आफ्नो स्थानीय तह अन्तर्गत वैदेशिक सहायता आवश्यक पर्ने सम्भावित आयोजना पहिचान गरी एकीकृत आयोजना सूची तयार गर्ने,

स्थानीय तहमा परिचालन हुन सक्ने वैदेशिक सहायताबाट सम्भाव्य आयोजना अघि बढाउन नेपाल सरकारको सम्बन्धित विषयगत मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गर्ने,

आफूले प्रस्ताव गरेको आयोजना कार्यान्वयन गर्नका लागि विकास साझेदारसँग हुने वार्तामा स्थानीय तहको तर्फबाट प्रतिनिधि मनोनयन गरी वार्ताका लागि अख्तियारी दिने,

स्थानीय तहको मागबमोजिम वैदेशिक ऋणमार्फत परिचालन भएको सहायताको हकमा सहायक सम्झौता अनुरूप ऋणको साँवा ब्याज भुक्तानी गर्ने,

नेपाल सरकारका विषयगत मन्त्रालयको सिफारिसमा मन्त्रालयको सहमति लिई वस्तुगत सहायता लिने,

वैदेशिक सहायताका कार्यक्रम वा आयोजना कार्यान्वयन गर्ने, गराउने, 

सम्बन्धित आयोजना सम्झौतामा उल्लेख भएका सर्तका अधीनमा रही खर्च तथा लेखाङ्कन र प्रतिवेदन गर्ने, शोधभर्नाका लागि आवश्यक पर्ने सम्पूर्ण विविरणहरू समयमै नियमित रूपमा आयोजना व्यवस्थापन कार्यालय र एकाइलाई उपलब्ध गराउने,

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट स्थानीय तहमा सञ्चालित कार्यक्रम आफ्नो वार्षिक कार्यक्रममा राख्ने र सोको समन्वय र अनुगमन सम्बन्धित जिल्ला समन्वय समितिले गर्ने ।

अन्त्यमा नेपालको सङ्घीय शासनप्रणालीको सफलता तहगत समन्वय र सहकार्यमा निर्भर गर्छ । संवैधानिक मर्म र भावना अनुसार तहगत सरकारबिच समन्वय र सहकार्यमा कार्यसम्पादन हुन सकेमा तहगत सहअस्तित्वको भावना झनै प्रगाढ भएर जान्छ । वैदशिक सहायता परिचालनका सन्दर्भमा तहगत समन्वय र सहकार्यको सिद्धान्त कार्यान्वयनले मुलुकको समन्यायिक र सन्तुलित विकासमा योगदान गर्छ । यसबाट वैदेशिक सहायता परिचालनलाई नतिजामूलक बनाई सहायता प्रभावकारिता वृद्धि गर्न समेत टेवा पुग्दछ । 

२. आन्तरिक राजश्व विभागले सम्पादन गर्ने प्रमुख कार्य उल्लेख गर्दै विभागले प्रशासन गर्ने मुख्य कानुनको सूची तयार गर्नुहोस् ।

नेपालमा आन्तरिक राजस्वको व्यवस्थापन र परिचालन गर्न अर्थ मन्त्रालय मातहत रही कार्य गर्ने विभाग आन्तरिक राजस्व विभाग हो । यस विभागले नेपाल सरकारको कुल राजस्वको आधा भन्दा बढी हिस्सा राजस्व सङ्कलन गर्ने गर्छ । विभागका प्रमुख कार्य र विभागले प्रशासन गर्ने कानुन देहायबमोजिम रहेका छन् ः

क) विभागका प्रमुख कार्य

करदाता सेवा प्रदान गर्ने,

कर सङ्कलन तथा प्रक्षेपण गर्ने,

कर फिर्तासम्बन्धी सेवा प्रदान गर्ने,

कर परीक्षण व्यवस्थापन गर्ने,

सूचना सङ्कलन तथा जोखिम विश्लेषण गर्ने,

अनुगमन तथा मूल्याङ्कन गर्ने,

कर नीति तथा कानुन तर्जुमा गर्दा परामर्श दिने,

अन्तर्राष्ट्रिय कर प्रशासनसम्बन्धी कार्य गर्ने,

कर नीति तथा कानुन कार्यान्वयनमा कानुनी राय 

प्रदान गर्ने,

प्रशासकीय पुनरवलोकन गर्ने,

अन्तःशुल्क प्रशासन गर्ने,

वित्तीय सूचनाको अभिलेखका लागि सूचना प्रणालीको विकास एवं प्रयोग गर्ने,

संस्थागत सुधार र क्षमता विस्तारसम्बन्धी कार्य गर्ने,

आर्थिक प्रशासन र कर्मचारी प्रशासनसम्बन्धी कार्य गर्ने ।


ख) आन्तरिक राजस्व विभाले प्रशासन गर्ने मुख्य कानुन

अ) ऐनहरू :

मदिरा ऐन, २०३१

मूल्य अभिवृद्धि कर ऐन, २०५२

आयकर ऐन, २०५८

अन्तःशुल्क ऐन, २०५८

सालबसाली आर्थिक ऐन

आ) नियम :

मदिरा नियमहरू, २०३३

मूल्य अभिवृद्धि कर नियमावली, २०५३

आयकर नियमावली, २०५९

अन्तःशुल्क नियमावली, २०५९

मुलुकमा आन्तरिक वित्त अन्तर्गत रहेको आन्तरिक राजस्व परिचालनलाई प्रभावकारी बनाउन आन्तरिक राजस्व विभागको संस्थागत क्षमता अभिवृद्धि गरी कार्यसम्पादनमा अब्बल संगठनको रूपमा विकास गर्न जरुरी देखिन्छ ।

३. स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनका सम्दर्भमा के कस्ता समस्या देखिएका छन् ? समस्याको सूची तयार गर्नुहोस् ।

सार्वजनिक स्रोतको प्राप्ति, विनियोजन, उपयोग, अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणसमेतका क्रियाकलाप व्यवस्थित गर्ने कार्यलाई सार्वजनिक वित्त व्यवस्थापन भनिन्छ । यसमा सार्वजनिक स्रोतको प्राप्ति, विनियोजन, उपयोग, अनुगमन तथा मूल्याङ्कनलाई व्यवस्थित बनाउन तर्जुमा गरिने नीति, कानुन, योजना, बजेट, कार्यव्रmम र सोको कार्यप्रणाली व्यवस्थित गर्नेलगायत विविध विषय समावेश हुन्छन् । स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनमा देखा परेका प्रवृत्तिहरू यस प्रकार छन् ।

स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनमा देखिएका समस्याहरू :

आवधिक योजना र मध्यमकालीन खर्च संरचनाबिना नै बजेट विनियोजन हुने,

आन्तरिक आय एवं राजस्वको प्रक्षेपण यथार्थपरक हुन नसकेको,

आन्तरिक आयस्रोतको पर्याप्त आधार बेगर राजस्व छुट दिने गरिएको,

समयमै बजेट पेस र पारित नहुने, 

बजेट अवण्डा राख्ने कार्यबाट बजेट अनुशासन कमजोर रहेको,

वर्षान्तमा खर्च गर्दा खर्चको गुणस्तरमा प्रश्न उठ्ने गरेको, 

प्रशासनिक खर्चमा मितव्ययिता नआएको,

अनुत्पादक तथा वितरणमुखी कार्यक्रममा खर्च हुने,

अनुदानको प्रभावकारिता मापन र मूल्याङ्कन नहुने,

आयोजनाको प्राथमिकीकरण नगरी तदर्थवादी तवरले आयोजना र कार्यक्रम छनोट हुने गरेको,

ससाना टुक्रे आयोजना छनोट गरी स्रोत छर्ने प्रवृत्ति रहेको,

सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानको उद्देश्यपरक खर्च नहुने,

जटिल संरचनाको कार्य पनि उपभोक्ता समितिबाट गराउने प्रवृत्ति देखिएको,

सार्वजनिक स्रोतसाधन र सम्पत्तिको दुरुपयोग हुने गरेको, लेखाङ्कन, प्रतिवेदन र आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको,

आन्तरिक लेखापरीक्षण समयमा हुन नसकेको,

बेरुजु फस्र्योटमा तदारुकता नदेखाएको । 

अन्त्यमा स्थानीय तहले संविधान प्रदत्त कार्यजिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न सार्वजनिक वित्त व्यवस्थापन पहिलो र अनिवार्य सर्तको रूपमा रहन्छ । यसका लागि स्रोत विनियोजन दक्षता अभिवृद्धि, कार्यान्वयन कुशलता अभिवृद्धि र आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण गर्दै वित्तीय अनुशासन कायम गर्नु आवश्यक देखिन्छ ।

४. नेपालको संविधानले अङ्गीकार गरेको राज्यको विकाससम्बन्धी नीति उल्लेख गर्नुहोस् ।

नेपालको संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको छ । संविधानले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व उल्लेख गरी शासन सञ्चालनलाई मार्गदर्शनसमेत गरेको छ । राज्यले लिएको विकाससम्बन्धी नीति यसप्रकार रहेको छ ः

क्षेत्रीय सन्तुलनसहितको समावेशी आर्थिक विकासको लागि क्षेत्रीय विकासको योजना तर्जुमा गर्ने,

योजना अन्तर्गत दिगो सामाजिक आर्थिक विकासका रणनीति र कार्यक्रम समावेश गरी समन्वयात्मक तवरले कार्यान्वयन गर्ने,

विकासमा पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिने,

सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा भौतिक पूर्वाधारको विकास गर्ने,

विकास निर्माण प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने,

वैज्ञानिक अध्ययन अनुसन्धान, विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी बढाउने,

वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरूको संरक्षण गर्ने,

राष्ट्रिय आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरी सर्वसाधारणको सरल र सहज पहुँच सुनिश्चित गर्ने,

राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, विकासको प्रतिफल वितरणमा विपन्नलाई प्राथमिकता दिई आमजनताले न्यायोचित रूपमा पाउने व्यवस्था गर्ने,

एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको विकास गरी नागरिकका सबै सूचना र विवरण एकीकृत रूपमा व्यवस्थापन गर्ने,

एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा र राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने,

जनसाङ्खिक तथ्याङ्कलाई अद्यावधिक गर्दै राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने ।

अन्त्यमा बलदिएको शासन व्यवस्थाले नागरिकको आर्थिक सामाजिक अवस्थालाई रूपान्तरण गर्न नयाँ शासकीय मूल्यहरूको अनुसरण गर्दै राज्यका संयन्त्रले कार्यसम्पादन गर्नु पर्छ । राज्यले लिएका नीतिहरूको प्रभावकारी कार्यान्वयन हुन सकेमा मात्र नागरिकले परिवर्तनको अनुभूति गर्न सक्छन् । उल्लिखित विकाससम्बन्धी नीतिलाई तिनै तहका सरकारको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र मुलुकको विकास र समृद्धिको सपना पूरा गर्न सकिन्छ ।

५. आन्तरिक ऋणका उपकरणको परिचय दिँदै आन्तरिक ऋणको निष्कासन गर्दा आन्तरिक ऋण व्यवस्थित गर्न के कस्ता कार्य गरिन्छ ? उल्लेख गर्नुहोस् ।

सरकारले सार्वजनिक खर्चका लागि स्रोत जुटाउन आन्तरिक वित्तीय बजारबाट सङ्कलन गर्ने ऋणलाई आन्तरिक ऋण भनिन्छ । सरकारले सङ्कलन गरेको ऋण रकम निश्चित समयपश्चात् साँवा र ब्याजसहित फिर्ता गर्नु पर्छ । आन्तरिक बजारबाट ऋण उठाउन प्रचलनमा रहेका उपकरण देहायबमोजिम रहेका छन् ः

क) ट्रेजरी बिल : एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन ऋणको उपकरणलाई ट्रेजरी बिल भनिन्छ ।

ख) विकास ऋणपत्र : दुई वर्ष वा सोभन्दा बढी अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने मध्यकालीन वा दीर्घकालीन ऋणको उपकरणलाई विकास ऋणपत्र भनिन्छ । 

ग) नागरिक बचतपत्र : नेपाली नागरिकको बचत परिचालन गरी आन्तरिक ऋण उठाउन प्रयोग गरिने मध्यमकालीन वा दीर्घकालीन अवधिको ऋण उपकरणलाई नागरिक बचतपत्र भनिन्छ ।

घ) वैदेशिक रोजगार बचतपत्र : वैदेशिक रोजगारीमा संलग्न वा वैदेशिक रोजगारबाट फर्किएको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकको वैदेशिक आम्दानी परिचालन गरी आन्तरिक ऋण उठाउन प्रयोग गरिने मध्यमकालीन वा दीर्घकालीन अवधिको ऋणको उपकरणलाई वैदेशिक रोजगार बचतपत्र भनिन्छ । 

आन्तरिक ऋणको निष्कासन र व्यवस्थापनसम्बन्धी कार्य :

क) आन्तरिक ऋणको कार्यतालिका तयार गर्नुपर्ने

आव सुरु हुनुपूर्व आन्तरिक ऋणको वार्षिक कार्यतालिका र ऋण निष्कासन तालिका तयार गरी अर्थ मन्त्रालयमा पेस गर्ने, यसरी तालिका तयार गर्दा बैङ्क र अन्य निकायसँग परामर्श लिन सक्ने,

पेस भएको वार्षिक कार्यतालिका र ऋण निष्कासन तालिकालाई मन्त्रालयले साउन महिनाभित्र स्वीकृत गरी कार्यालयलाई जानकारी दिने,

स्वीकृत कार्यतालिका र ऋण निष्कासन तालिका ऋणको जोखिम, लागत र नगद प्रवाहसमेतका आधारमा अर्थ मन्त्रालयले परिमार्जन गर्न सक्ने ।

ख) मध्यकालीन ऋण व्यवस्थापन रणनीति तयार गर्नुपर्ने

प्रत्येक आवका लागि मध्यमकालीन ऋण व्यवस्थापन रणनीति अद्यावधिक गरी प्रकाशन गर्ने,

प्रत्येक आवको असार मसान्तसम्म तिर्न बाँकी ऋण र मध्यमकालीन खर्च संरचनामा प्रक्षेपित आर्थिक परिसूचकलाई आधार मानी रणनीति अद्यावधिक गर्ने,

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट अद्यावधिक गरिएको मध्यमकालीन ऋण व्यवस्थापन रणनीति अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेस गर्ने,

अर्थ मन्त्रालयले माघ समान्तभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत रणनीतिलाई कार्यालयले वेबसाइटमार्फत सार्जवनिक गर्ने ।

ग) ऋणको दिगोपना विश्लेषण गर्ने

असार मसान्तसम्म तिर्न बाँकी ऋण रकमलाई आधार मानी ऋणको दिगोपना विश्लेषण प्रतिवेदन आवधिक रूपमा तयार गर्ने,

दिगोपना विश्लेषण प्रतिवेदन अर्थ मन्त्रालयमा स्वीकृतिको लागि पेस गर्ने,

स्वीकृत प्रतिवेदनलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गर्ने ।

अन्त्यमा आन्तरिक ऋणका उपकरणको माध्यमबाट ऋण परिचालन गर्दा बोलकबोल सूचना प्रकाशन, बोलकबोल, बाँडफाँट र निष्कासन, साँवा र ब्याज भुक्तानी जस्ता कार्य गरिन्छ । आन्तरिक ऋणको कार्यतालिका, मध्यमकालीन ऋण व्यवस्थापन रणनीति र आन्तरिक ऋणको दिगोपना विश्लेषण गरेर मात्र आन्तरिक ऋण उठाउने कार्य गरिन्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा