गोरखापत्र समाचारदाता
ललितपुर, वैशाख १८ गते । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ महिलाले बिहीबार लगनखेलबाट तानेका छन् । रातो मत्स्येन्द्रनाथको रथको टुप्पोबाट नरिवल खसालेको भोलिपल्ट अर्थात् बिहीबार बिहानै रथलाई लगनखेलबाट तानेर थतिटोलसम्म पु-याइएको छ । विशाल जनसागर सहभागिताबिच ६०/७० जना महिलाले डोरी समाउने कार्य गरेका थिए । यसलाई नेपाल भाषामा याकः मिसाया भूज्याः (एकल महिलाको जात्रा) भनिन्छ ।
विगतमा यो परम्परा बिहान झिसमिसेमा हुने गर्दथ्यो तर एक दशकअघिदेखि यो बिहानको उज्यालो सँगसँगै हुन थालेको संस्कृतिविद् डा. चुन्दा वज्राचार्य बताउनुहुन्छ । एकल महिलालाई समाजमा स्थान दिएको प्रतीकस्वरूप एकल महिलाले मात्र रथ तान्ने परम्परामा हाल परिमार्जित भएर सबै महिलाको सहभागिता हुन थालेको छ ।
अन्य दिनमा साँझतिर तानिने रथ यस दिन बिहान तानिन्छ । डा. वज्राचार्य भन्नुहुन्छ, “यो चलनलाई पुरातन समाजमा एकल महिलाको अस्तित्वलाई विशेष ठाउँ दिएको प्रमाणका रूपमा लिन सकिन्छ ।” कुनै समयमा रथजात्रा गरिरहँदा लगनखेल इटिटोलको एक एकल महिला बिरामी भई रथजात्रामा सहभागी हुन नसकेकाले एकल महिलालाई पनि जात्रामा सहभागी गराउनु पर्छ भनी धार्मिक मान्यता अनुसार एक दिन महिलाले मात्र रथ तानी जात्रा सम्पन्न गरेका हुन् । वज्राचार्यका अनुसार हरेक दिन रथबाट नरिवल खसालेको भोलिपल्ट बिहान महिलाले मात्र रथजात्रा सम्पन्न गर्ने परम्परा रहिआएको छ ।
महिलाले सार्वजनिक रूपमा बाहिर निस्केर जात्रा पर्वमा सरिक हुन बन्देज जस्तै लगाएको समयमा पनि यो क्रमले निरन्तरता पाएकोे थियो । महिलाको भूमिकालाई स्वीकारेर जात्रामा पनि स्थान दिएको यो नमुनालाई केही वर्षअघिदेखि काठमाडौँमा हुने इन्द्रजात्रामा पनि अङ्गीकार गरेको छ । इन्द्रजात्रामा कुमारी, भैरव र गणेशको रथ तान्दा महिलाको पनि सहभागिता गराइन्छ । महिलाले रथ तान्ने दिन अन्य दिनमा भन्दा कम दुरी लगनखेलको इटिटोलदेखि थतिटोलसम्म (करिब सय मिटर) मात्र रथ तानिन्छ । थतिटोलमा पुगेपछि भने ज्योतिषले दोस्रो चरणको साइत हेरेर जावलाखेल पु-याउने दिनको टुङ्गो लाग्छ । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ र खटमा राखेर त्यही दिन मत्स्येन्द्रनाथलाई बुङ्गमती फर्काइन्छ ।