रमेश विश्वकर्मा
गुल्मी, वैशाख १८ गते। गुल्मीको सत्यवती गाउँपालिकामा एक विद्यालयले रकम संकलन गरी स्कुल बस सञ्चालनमा ल्याएको छ। यस गाउँपालिकाको वडा नम्बर ५ हँसरास्थित सत्यवती माध्यमिक विद्यालयले हालै मात्र स्कुल बस सञ्चालनमा ल्याएको हो।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीका अनुसार पूर्वविद्यार्थी, शिक्षक र अभिभावकबाटै रकम संकलन गरी स्कुल बस सञ्चालनमा ल्याइएको हो। यसरी बस सञ्चालन हुँदा उल्लिखोलादेखि खैरेनीबजार हुँदै साहाघाटसम्मका विद्यार्थीले स्कुल बसबाट प्रत्यक्ष लाभ लिने बताइएको छ।
अभिभावक र विद्यार्थीको आवश्यकता महशुस गरेर सञ्चालनमा ल्याइएको स्कुल बसबाट सुरुवाती चरणमा १२० जना विद्यार्थी लाभान्वित हुनेछन्। कुल २० लाख रुपियाँमा खरिद गरिएको बस सञ्चालनमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षकहरू र पूर्वविद्यार्थीबाट सहयोग भएको छ।
तर, हालसम्म ६ लाख रुपियाँ मात्र सहयोग संकलन भएको बताइएको छ। विद्यार्थी कल्याणकारी कोषमा रकम जम्मा गरिएको छ। विद्यालयमा गत वर्ष ५२७ जना विद्यार्थी रहेकोमा अहिले ५५० विद्यार्थी पुग्ने अनुमान छ। यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ।