• १८ वैशाख २०८३, शुक्रबार

सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र

blog

घरदैलो कार्यक्रममा व्यस्त शिक्षक । तस्बिर : सुधा देव

सुधा देव 
भारदह (सप्तरी), वैशाख १८ गते ।
सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र पारिएको छ । यही वैशाख १५ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान अन्तर्गत जिल्लाका अधिकांश पालिकाका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरू घरदैलो कार्यक्रममा व्यस्त देखिएको स्थानीयले बताएका छन् ।

विद्यालयमा भर्ना अभियान सञ्चालन भइरहेको यो समयमा जिल्लाका अधिकांश शिक्षकहरू विद्यार्थी भर्नाका लागि समुदायमै पुग्ने गरेको स्थानीय शिक्षक बिणा झाले बताउनुभयो ।

गरिब, विपन्न तथा पछाडि पारिएका समुदायका बालबालिका अझै पनि शिक्षाप्रति संवेदनशील नभएकाले घरदैलो कार्यक्रमले सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढाउन सहयोग पुगेको शिक्षिका ललिता झाले बताउनुभयो ।

यसैक्रममा राजविराज–१ स्थित श्री लक्ष्मीप्रसाद देवकोटा आधारभूत विद्यालयले घरदैलो कार्यक्रमसँगै विद्यालयमै पठनपाठन पनि सञ्चालन गरिरहेको छ । विद्यालयका प्रधानाध्यापक विक्रम झाले विद्यार्थी भर्ना अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताउनुभयो ।

वैशाख १५ देखि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियान तथा अभिभावक भेटघाट कार्यक्रमले भर्ना दर वृद्धि गर्न सहयोग पुगेको राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षमा एक पटक शिक्षकहरूले अभिभावकको घर जाने अवसर पाउनुहुन्छ । यो कार्यक्रम अभिभावकको कुरा सुन्ने, समस्या बुझ्ने र आफ्ना कमजोरी सुधार्ने अवसर पनि हो ।”