• १० असार २०८२, मङ्गलबार

वैकल्पिक बाटोबाट यात्रा गर्न आग्रह

blog

गोरखा-मनकामना सडकखण्ड अन्तर्गत सहिद लखन गाउँपालिका-७ ढुङगाडेमा गएको पहिरो ।

नवलपरासी समाचारदाता

कावासोती, असार १० गते । पूर्वपश्चिम राजमार्गको विनयीत्रिवेणी खोलाको डाइभर्सन भत्काएपछि सडक डिभिजन कार्यालयले अब डाइभर्सन बनाउने काम बन्द गरेको छ । डाइभर्सन बन्द भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो । 

जति पटक डाइभर्सन बनाएर यातायात सञ्चालन गराए पनि बाढीले फेरि बगाउने हुँदा यातायात नै बन्द गरी वैकल्पिक बाटोबाट यात्रा गर्न प्रशासनले सबैसँग अपिल गरेको छ । गत आइतबार निर्माण गरेर यातायात सञ्चालन गरिएको दुम्कीबासस्थित विनयीत्रिवेणी खोलाको डाइभर्सन सोमबार बिहान बगाएपछि यातायात सञ्चालन नगर्न स्थानीय प्रशासनले अपिल गरेको प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । 

आइतबार त्यहाँबाट दुई सय गाडी वारपार गराइएको थियो तर खोलामा आएको बाढीले राति नै डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सनाले बताउनुभयो । 

यसै गरी दाउन्ने खण्डको दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर बाटो भत्काएपछि यातायात बन्द भएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । दाउन्ने खण्डमा पानी परेका कारणले बाटो पुरै चिप्लिन थालेपछि यातायात ठप्प हुन पुगेको र यातायात सञ्चालन गर्न गिटी बालुवा बिछ्याएर सुचारु गर्ने पहल गरे पनि सफल नभएपछि याताायत बर्दघाटबाट पश्चिमतिर र चोरमाराबाट पूर्वतर्फ फर्काएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । 

नवलपरासी पूर्वको तीन ठाउँ उच्च जोखिममा रहेकाले यातायात बन्द गरी वैकल्पिक यात्रा गर्न स्थानीय प्रशासन, राजनीतिक दल र ठेकेदार कम्पनीले सबैसँग आग्रह गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।