• १० असार २०८२, मङ्गलबार

हात्तीको न्वारन बाह्र दिनमा !

blog

हात्ती प्रजनन केन्द्रमा जन्मिएको छावाको न्वारन गरिँदै । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, असार १० गते ।
  हात्ती प्रजनन केन्द्रमा जन्मिएको छावाको न्वारन गरिएको छ । धार्मिक विधि अनुसार पूजापाठ गरेर छावाको नामाङ्कन गरिएको हो । हात्तीले बच्चा जन्माएको खुसीयालीमा १२ औँ दिनमा न्वारन गरी नामाङ्कन गर्ने प्रचलन छ ।

विधि परम्परा अनुसार चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले छावाको विनम्रकली नाम दिनुभयो ।

प्रजनन केन्द्रमा जन्मिएका हात्तीहरुको नाम प्रमुख संरक्षण अधिकृतले राख्ने प्रचलन छ । तीर्थमानकलीको तेस्रो सन्तानका रुपमा विनम्रकली जन्मिएको हो ।

प्रमुख संरक्षण अधिकृत डा. पन्तले हात्ती र यहाँका सुसारेहरुमा देखिने विनम्रताको प्रतीकका रुपमा विनम्रकली नामाङ्कन गरिएको जानकारी दिनुभयो ।

२०४४ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा पहिलो पटक २०४९ चैत २६ मा पहिलो सन्तानबहादुर गज जन्मिएको थियो । प्रजनन केन्द्रमा अहिलेसम्म ६७ वटा हात्तीका छावा जन्मिसकेका केन्द्रका अधिकृत मनिपुरन चौधरीले जानकारी दिनुभयो ।