राममणि दाहाल
मकवानपुर, असार १० गते । हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका योजनालाई व्यवस्थित गर्न आयोजना बैँक कार्यान्वयनमा ल्याउने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाको मङ्गलबार १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मीनाकुमारी लामाले आगामी आवबाट आयोजना बैँक कार्यान्वयनमा ल्याउने बताउनुभएको हो ।
उहाँले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैँकको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताउनुभयो ।
आगामी आवमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।
युवा लक्षित कृषि कार्यक्रम सञ्चालन, प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहित गर्ने र एक वडा, एक कृषि उत्पादन कार्यक्रममा १३ मा मेवा खेती र वडा नं. १ कोदो खेती कार्यक्रमलाई निरन्तरता आगामी आवमा पनि निरन्तरता दिइने भएको छ ।
उहाँले स्वच्छ उत्पादनशील समृद्ध सहर हेटौँडा भन्ने सोचको आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
२०८१/०८२ मा आन्तरिक स्रोत, राजस्व बाँडफाँड र सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा अपेक्षा अनुसार वृद्धि नहुँदा कतिपय महत्त्वपूर्ण योजना र कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै उहाँले हेटौँडा १० को निर्माणाधीन एकीकृत बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याइने बताउनुभयो ।
यस्तै, अनलाइन नक्सा प्रणाली कार्यान्वयनमा ल्याइने, हेटौँडा ४ मा बहुउद्देश्यीय तथा व्यावसायिक भवन निर्माण भएको ढिलाई र अन्यौलताको कानुन सम्मत् निकास निकाली भवन निर्माण प्रक्रिया अगाडि बढाइने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ ।
यसैगरी, रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाई बेरोजगार व्यक्तिलाई सिप सिर्जना माध्यमबाट रोजगारमा जोड्ने र स्थानीय सामुदायिक पूर्वाधार मर्मत सम्भारलगायतका श्रममूलक कार्यमा संलग्न गराई लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याइने नीति लिइनेभएको छ ।
नगर प्रमुख लामाले वडा नं. १३ र १६ का नगर अस्पताललाई सङ्घ र प्रदेश सरकारको समन्वय र सहकार्यमा आवश्यक पूर्वाधार विकास गरी स्वास्थ्य बिमासहितको अस्पतालको रुूपमा विकास गरिने बताउनुभयो ।
पालिकाको स्रोत वृद्धि गर्न करका दायरका विस्तार गर्ने नीति आगामी आवमा उपमहानगरपालिकाले लिने भएको छ । पर्यटन प्रवर्धनलगायतका साझा सरोकारका कार्य गर्न अन्तरपालिका समन्वय सञ्जाललाई कार्यविधि बनाई कार्यान्वयन व्यवस्थित गरिने नगर प्रमुख लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताउनुभयो ।