ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
मङ्गलबार बेनीमा १७ औँ नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ १६ करोड ८६ लाख ९७ हजार रुपियाँ प्रस्ताव गरिएको छ ।
बजेटमा सङ्घीय समानीकरण अनुदान ११ करोड ६३ लाख, सङ्घीय राजश्व बाँडफाँड ९ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार, सङ्घीय सर्शत कार्यक्रम ३७ करोड ४२ लाख, गण्डकी प्रदेश सरकार सर्शत विशेष अनुदान एक करोड २ लाख, सङ्घीय सरकार समपुरक अनुदान ६५ लाख, सङ्घीय सरकार विशेष अनुदान ६९ लाख,आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार,मालपोत रजिस्ट्रेसन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ ।
नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको जानकारी दिनुभयो । नगर प्रमुख केसीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भई सकेको र उपप्रमुख लामिछानेले पेस गर्नुभएको बजेट छलफल पछि पारित गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।