काठमाडाैं, असार १० गते । गृहमन्त्री रमेश लेखकले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले पूर्व मुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको जानकारी गराउनुभएको हो ।
पूर्व मुख्यसचिव बैरागीको संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य रहनुभएको छ ।
समितिको सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहनुभएको छ । समितिलाई अध्यागमन र भिजिट भिसामा देखिएका सबै समस्याको समाधानका लागि सदनमा उठेका विषयहरुलाई समावेश गर्नेगरी समिति गठन गरिएको उहाँले दाबी गर्नुभयो । गृहमन्त्री लेखकले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि उपयुक्त व्यवस्थाका लागि सरकारले ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, "अध्यागमन व्यवस्थापनका क्रममा केही समस्या देखापरेका छन् । केही आज सतहमा आएका होलान्, कुनै हिजोदेखि नै देखापरेका समस्याहरु छन् । ती समस्याहरु विगतदेखि नै रहेका, भिजिट भिसाका सम्बन्धमा देखापरेका अरु पनि समस्याहरु देखापरेका छन् ।"
उहाँले सदनमा उठेका विषयलाई सम्मान गर्दै सबैलाई समेटेर कार्यादेशसहित समिति बनेको बताउँदै अध्यागमनका समग्र विषयमा देखापरेका समस्या समाधान हुनसक्ने गरी सुझाव प्रतिवेदन पेश हुने र सोही अनुरुप सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।